धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको निति तथा योजना आयोगको उपाध्यक्षमा डा. जीवन राना नियुक्त भएकी छिन । मुख्य मन्त्री कमलबहादुर शाहले रानालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन ।

मुख्यमन्त्री शाहले थप २ जनालाई आयोगको सदस्यमा नियुक्त गरेका छन । जसमा शेर बहादुर भण्डारी र हिरा चन्द रहेका छन । द सोसियो कल्चर अफ राना थारु विषयमा विद्यावारिधि प्राप्त रानाले एजुकेशन प्लानिङ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । रानाथारु समाजकी पूर्व अध्यक्ष राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य पनि हुन् । सदस्यमा नियुक्त भएका भण्डारी पनि नेपाली कांग्रेस निकट हुन् । अर्का सदस्य चन्द भने नेकपा एमाले निकट हुन् । मुख्यमन्त्री शाहले बुधवार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाए । त्यसपछि उपाध्यक्ष रानाले नवनियुक्त सदस्यद्वय भण्डारी र चन्दलाई शपथ खुवाएकी छन् ।

यसअघि उपाध्यक्ष गणेश विक थिए भने सदस्यहरूमा डा. जगरसिंह रावल र दीपिका भट्ट थिए । विक नेकपा एकीकृत समाजवादी निकट हुन् । तत्कालीन गठनादेश खारेज गरेर नयाँ गठनादेश अनुसार उपाध्यक्ष र सदस्य नियुक्त गरिएको हो ।
यसअघि उपाध्यक्षसहित तीन सदस्य रहेको प्रदेशको नीति तथा योजना आयोग अब पाँच सदस्यीय भएको छ । उपाध्यक्ष र दुई सदस्य नियुक्त भएपछि अब थप दुई सदस्य नियुक्त हुने छन् । नयाँ नियुक्त हुने सदस्य पनि भागबन्डामै टुंगीने बताइएको छ ।


















