खाेज्नुहाेस

रावलले रोजे देशभक्तिपूर्ण राजनीतिक शक्तिको बाटो

Image

अत्तरिया – पूर्वउपप्रधानमन्त्री भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको बाटो रोजेका छन । नेकपा एमालेको कारबाहीमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै उनले नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक पार्टी निर्माण गर्ने बाटोमा अघि बढेको बताए । ‘आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहहीन बाटोमा धकेलिएको छ’, रावलले निष्कर्ष प्रस्तुत गरेका छन्, ‘एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लागेको लाग्छ ।’ एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावलले एमालेको विकल्पमा पार्टी निर्माणको राष्ट्रिय अभियान चलाउने पनि घोषणा गरे ।

‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकता गर्नुपर्छ,’ रावलले भनेका छन् । राष्ट्रिय अभियान हुँदै वैकल्पिक पार्टी निर्माण गर्दा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीतिलाई ध्यान दिइने उल्लेख गरेका छन् ।

attariya hospital

‘देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्नेछ’, रावलले भनेका छन् ।

navjiwan hospital

एमालेबाट पुस ११ गते निकालिएका रावलले पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका थिए । भ्रष्टाचार र हिनामिनामा मुछिएका ठूला भनिएकाहरूलाई जोगाउने काम ओलीले गरेको उनले बताए । रावलले ओलीका कारण अन्तर्राष्ट्रिय सम्बन्ध पनि फितलो बनाइएकोमा आपत्ति जनाए । रावलले सत्ताको बागडोर सम्हालेकाहरूले भ्रष्टाचारलाई बढावा दिने काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप रावलले लगाउँदै उनले पाँच दशकसम्म काम गरेको एमालेमा ओलीबाट भएको क्रियाकलापको विरोध गरेको पनि स्मरण गरेका छन् । एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उनले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको रावलले गुनासो गरे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय ओलीले आफूप्रति गरेको चरम प्रतिशोधको एउटा उदाहरण भएको पनि बताएका छन् ।

maya metro hospital

रावलले ललिता निवास जग्गा प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीको इसारामा उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएको आरोप पनि लगाएका छन् । ‘ललिता निवास बालुवाटार जग्गा भ्रष्टाचार प्रकरणमा विष्णुप्रसाद पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले अवैध रूपमा प्राप्त गरेको जग्गा सरकारलाई फिर्ता गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजको नाममा मुद्दा दर्ता गर्न नपर्ने फैसला तपाईँकै इसारामा गरेको होइन र ?,’ रावलले पत्रकार सम्मेलनमा प्रश्न गर्दै भने, ‘कसैले चोरी गरेको सामान फिर्ता गर्दैमा दण्ड सजाय नगर्ने कानुन छ र ?’
त्यस्तै रावलले एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि आफ्नो ५१ वर्षे राजनीतिक जीवन नै समाप्त पार्ने गरी स्पष्टीकरण र पार्टी सदस्यता नै खोसेको भन्दै ओलीले गरेका विभिन्न निर्णयहरूको जवाफ दिनुपर्ने भन्दै रोचक स्पष्टीकरण सोधेका छन् ।

त्यस्तै रावलले आफूलाई पार्टीले सोधेको स्पष्टीकरणलाई भने कथित स्पष्टीकरण भनेका छन् । रावलले एमाले महासचिव शङ्कर पोखरेलले हस्ताक्षर गरेर पठाएको स्पष्टीकरण २०८१ कात्तिक ६ गते प्राप्त गरेको भन्दै उक्त स्पष्टीकरणपत्र द्वेषपत्रका रूपमा लिएको बताएका छन् । साथै सोधिएको स्पष्टीकरण सोध्दा समेत आफ्नो नाम र पद नलेखिएको रावलले जनाएका छन् । ‘अतः यस्तो कथित स्पष्टीकरणको मैले जवाफ दिनुभन्दा स्वयं केपी ओलीले नै नेकपा एमालेको देशभक्त, इमानदार पङ्क्ति र नेपाली जनतालाई थुप्रै प्रश्नहरूको जवाफ दिनुपर्ने देखिएको छ’ रावलले भनेका छन् । रावलले अध्यक्ष ओलीले नै दसौँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा हुन नदिएको आरोप लगाएका छन् । रावल दसौँ राष्ट्रिय महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

Karma Consultancy