काठमाडौँ- आजदेखि दुई दिन बदली, वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ ।
आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने वरिष्ठ मौसमविद मीन कुमार अर्यालले बताए । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ ।


राति भने सुदूरपश्चिमका केही स्थानहरु, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने पूर्वानुमान छ । यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जानेछ र काठमाडौं उपत्यकामा पनि यसको प्रभाव देखिने छ । उपत्यकामा पनि शनिबार हल्का वर्षा हुने हुनेछ ।
शनिबार देशैभर साधारण बदली हुन्छ । सुदूरपश्चिम र कर्णालीका धेरै स्थानहरुमा तथा कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आइतबारबाट मौसम क्रमशः सुधार हुने देखिन्छ । यो प्रणालीले जाडो बढाउने हुँदा चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।


















