खाेज्नुहाेस

एमालेद्वारा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षको राजीनामा माग

Image

अत्तरिया – नेकपा एमाले गोदावरी नगर कमिटीले अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षको राजीनामा माग गरेको छ । एमालेले एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष लगायत राजीनामा दिन बाँकी सदस्यले पनि यथाशीघ्र राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेको छ । अत्तरिया उद्योग वाणिज्य संघमा नक्कली टिकट ठेली प्रकरण पछिको विवादका कारणले ११ जनाले राजीनामा दिइसकेका छन् ।

एमालेले विज्ञप्ति मार्फत अत्तरिया उद्योग वाणिज्य संघमा भएको व्यापक आर्थिक अनियमितता पश्चात् कार्यसमितिका बहुमत सदस्यले दिएको राजीनामाले संस्थाको कार्यसमितिको वैधानिकतामा गम्भीर प्रश्न खडा गरेको जनाएको छ ।

attariya hospital
navjiwan hospital

विज्ञप्तिमा भनिएको छ ‘राजीनामा दिने र राजीनामा नदिने दुवै पक्ष बराबर दोषी रहेको ठहर गर्दै संस्थालाई अनिर्णयको बन्दी बनाउने अध्यक्ष लगायत बाँकी सदस्यले पनि यथाशीघ्र राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने तथा यस कार्यसमितिले उद्योगी, व्यापारी वर्गको हकहित र संरक्षण गर्न नसक्ने निष्कर्ष निकालियो ।’

एमालेले उद्योग वाणिज्य संघको पूर्णता तथा आगामी रणनीति तय गर्नका लागि दबाब समिति पनि गठन गरेको छ । एमालेले नैन सिंह कार्कीको संयोजकत्वमा टिकाराम आचार्य, गणेश महरा, रवीन्द्र रोक्का मगर, ईश्वरा आचार्य, विशाल बडूवाल र बालकृष्ण भट्टराई सदस्य रहेको दबाब समिति गठन गरेको जनाएको छ ।