अत्तरिया- कैलालीमा सुन र चाँदीका गरगहनासहित २ जना युवायुवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बुढिगंगा नगरपालिका-१० बस्ने बर्ष २५ को सुजन शाही र कैलालीको लम्कीचुहा नगरपालिका-४ बस्ने ३४ वर्षकी रम्भा जैशी रहेका छन् ।
उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो ।


दुबै जनालाई टीकापुर नगरपालिका-१ गणेशपुर शिविरस्थित २८ वर्षकी धर्मा जैसीको घरभित्र खाटमा कालो रंगको झोला राखी शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी शरीर तथा उक्त झोला चेकजाँच गर्दा सुन चाँदी लगायतका गरगहना बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट चाँदीको सिक्का, सुन चाँदीका औँठी, सिक्री, झुम्का, खुट्टाको औलामा लगाउने बिछिया, कालो पोते भएको नागिनी माला, नगद १३ हजार रुपैयाँ बरामद गरी लुप्र ०१-००३ प २२९९ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।














