मोहन भट्ट, दार्चुला- सामाजिक सञ्जालमा अहिले प्राय: सुनिने शब्द हो ‘नमस्ते ढोग दिया’ । विषेशगरी टिकटकमा यसको प्रयोग अत्यधिक भइरहेको छ । कतिले जानेर गरेका छन् त कतिले नजानी । अरुलाई होच्याउने गिज्याउने हेतुले त कतिले ट्रेण्डलाई पछ्याउँदा आफूप्रतिको आकर्षण बढ्ने र भ्यूज बढाउने उद्देश्यले पनि यो थेगोलाई प्रयोग गरिरहेकोको देखिन्छ ।

टिकटकमा परिचित नाम आयुष सिंह ठकुरी, उनकी पत्नी एलिजे जमाली र आमा नानू सिंह ठकुरी बिचको परिवारिक कलहबाट व्युँतिएको यो शब्द अहिले टिकटक मात्र नभई सबैतिर छाएको देखिन्छ । हुन त यो शब्द टिकटकमा यो भन्दा पहिले नआएको वा सुन्दै नसुनिएको पनि होइन । सुदूरपश्चिमेली लवजको प्रयोग गर्दै टिकटकमा आफ्ना सामाग्री राखेर छुट्टै पहिचान बनाउन सफल डडेल्धुराकी पवित्रा साकी (मिस पवि)ले पनि आफ्ना प्राय: भिडियोमा नमस्ते ढोग दिया, निकाइ छौब ? आदि इत्यादि भनेर सुरु गरेको पाइन्थ्यो र पाइन्छ ।

अहिले चाहिँ आयुषकी आमाले छोरा बुहारीप्रतिको गुनासो, पारिवारिक कलहलाई सामाजिक सञ्जालमा पोख्न खोज्दा नमस्ते ढोग दिया भन्दै सुरु गरेको पाइन्छ । अहिले उनीहरुको पारिवारिक कलह प्राय नेपाली समाज, पाटीपौवा, वनपाखाका कुराकानीमा उठ्ने गरेको देखिन्छ । त्यसरी नै ढोग दिया शब्द पनि व्यापक फैलिएको छ । यस सम्बन्धमा स्वयम आयुषकी आमाले पनि मेरो कुराहरु यतिसम्म गहिरो र दीर्घकालीन असर पार्लान्, मेरो छोराको व्यक्तिगत जीवन अनि पारिवारिक कलहले यति धेरै उग्र रुप लिन्छ होला भन्ने कल्पना समेत नगरेको भनेर बताएकी छिन् ।

हुन त सामाजिक सञ्जालमा कति बेला के विषयबस्तु भाइरल हुन्छ पत्तै हुँदैन । तरकारी डोकोमा हालेर बजार पुर्याउन हिँडेकी युवती घर पुग्दा भाइरल भएर तरकारी वाली भनेर कहलिन्छिन् । यति मात्र नभई भाइरल तरकारीवाला, ठेलावाला, चायवाला आदि इत्यादि त्यस्तै शब्दहरुमा नाटकै हो नौटङ्की नै हो, चोकतिर केटा हो चोकतिर, पारा, खेलेगा फ्री फायर, लाज नभएकाहरु शब्द लगायतले खुब सञ्जाल तताए बेला बखतमा ।
तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले एक सार्वजनिक कार्यक्रममा बङ्गलादेशमा एमबीबीएस पढिरहेका नेपाली छात्राहरु आफ्नो प्रमाणपत्रको लागि इज्जत दाउमा लाउन तयार रहेको भन्ने विवादास्पद अभिव्यक्ति दिँदा त्यसले उग्र रुप लिएपछि नैतिकताको आधारमा राजीनामा दिनुपरेको थियो । अनि भारतमा २०१९ को लोकसभा निर्वाचन र्यालीमा राहुल गान्धीले नरेन्द्र मोदीलाई लक्षित गर्दै ‘चौकीदार चोर हे’ अथवा यो देशको चौकिदार चोर छ भन्ने अभिव्यक्ति दिएका थिए जसले भारतमा काम गरिरहेका नेपाली समुदायमा पनि प्रभाव पर्न गयो । यो विषय भारतको सर्वोच्च अदालतसम्म पुग्यो । यो विषयलाई मोदीले मुख्य चुनावी मुद्दा बनाई चुनावी प्रचारमा जोडतोडका साथ उठाए र देशमा विभिन्न क्षेत्रमा सुरक्षा गार्डको रुपमा काम गरिरहेका व्यक्तिहरुलाई सम्बोधन गर्दै सद्भाव बटुल्न सफल भए ।
‘ढोग दिया’ शाब्दिक अर्थ :
सामान्यतया सुदूरपश्चिम र कर्णाली भेग अनि भारतको कुमाउ गडवाल लगायत क्षेत्रमा यसको अर्थ ढोग गरे भन्ने बुझिन्छ । ढोग आफ्नो रगतको नाता भएका व्यक्ति, इस्टमित्र र अन्य वन्धुवान्धवमा नाताले आफूभन्दा ठुलालाई गरिन्छ । पल्टनमा सानो दर्जाको सिपाहीले ठुलो दर्जालाई सलाम गरे जस्तै । ‘ढोग दिया’को पर्यावाची शब्दका रुपमा ढोग गरे, दर्शन, पुइला आदि पनि भन्ने गरिन्छ । ढोग दिँदा शिर निहुराएर अथवा पाउ छोएर दिने गरिन्छ । अनि आशिर्वाद दिने व्यक्ति ले प्रतिउत्तरमा भाग्यमानी, जी रए, बाँचिरए, ठुलो भए आदि इत्यादि भनेर आशीर्वाद दिने गर्दछ्न् । सुदूरपश्चिमको सँस्कृति, सभ्यता, सँस्कारसङ्ग जोडिएको यो शब्द आफैमा मौलिक र पवित्र छ । नमस्ते-नमस्कार शब्द नेपाललगायत भारतमा पनि प्रचलित छ तर, ‘ढोग दिया’ शब्द सुदूर तथा कर्णाली क्षेत्रमा प्रचलित रहेकोले त्यस क्षेत्रको मौलिकतासङ्ग जोडिएको छ र छुट्टै आत्मियता पनि बोकेको छ ।
नकारात्मक प्रभाव :
अहिले यो पवित्र सम्मानित शब्द अरुलाई होच्याउन गिज्याउन अनि भारतीय शब्दहरु पछाडि जोडेर नराम्रो अर्थ लाग्ने गरी भनिएको, कुनै एक निश्चित भाषा समुदायलाई नराम्रो प्रभाव पार्ने गरी यसको प्रयोग गरिँदैछ । यतिबेला यो प्रवृत्तिलाई रोक्नुपर्ने विचारहरु पनि आउन थालेका छ्न् । एउटा व्यक्तिका कमिकमजोरी ट्रोल गर्न सिंगो सँस्कृतिमाथि मजाक बनाउन नमिल्ने र कुनै विषयमा आफ्नो विचार राख्नुअघि विषयवस्तुको गम्भीरताबारे पनि ख्याल राख्नुपर्ने विचार धेरैको छ । कतिले त सुदूरपश्चिमको पुजनीय शब्दलाई भद्दा मजाक अनि ट्रोलको रुपमा प्रयोग गरिएकोमा असन्तुष्टि प्रकट गरेको पाइन्छ । यसले गर्दा नेपाली समाजमा साइबरबुलिङको असर पर्ने देखिन्छ ।
सामाजिक सञ्जालको प्रयोग गर्दा संयमित र सजग भई गर्ने अनि कुनै विषयबस्तुबारे आफ्नो विचार राख्दा यसले दीर्घकालीन रुपमा कस्तो असर पार्ला भन्नेबारे सोचविचार गरिदिए यसले समाजिक कलह कम गर्नुका साथै आपसी आत्मियता र सद्भाव बढाउन मद्दत गर्दछ । तपाईंको अस्तित्व र क्षमता केवल लाइक, कमेन्ट र फलोअरमा मात्र मापन हुने नभई तपाईको बौद्धिकता, विचार अनि समाज र देश रुपान्तरणमा दिएको योगदानका आधारमा मापन हुन्छ । सामाजिक सञ्जाल अरुलाइ प्रभावित पार्न नभई समाजमा राम्रो प्रभाव पारी सामाजिक रुपान्तरणको लागि प्रयोग गरौँ ।