कैलालीमा धान उत्पादनमा वृद्धि

धनगढी – कैलालीमा धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीले यस वर्ष धानको उत्पादन गत वर्षको तुलनामा बढेको जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी श्याम जोशीले उत्पादन ७–८ प्रतिशतसम्म बढेको आकलन गरिएको बताए । ‘तथ्यांक संकलन गरेका छौँ, एकीकृत गर्न बाँकी छ,’ उनले भने, ‘संकलित तथ्यांक हेर्दा गत वर्षको तुलनामा सात–आठ प्रतिशतसम्म उत्पादन बढेको देखिएको छ ।’

maya metro hospital

जिल्लाभरि ५० ठाउँमा किसानको खेतमै गएर धान कटानी र थ्रेसिङ गरेर तथ्यांक संकलन गरिएको ज्ञान केन्द्र प्रमुख हरिप्रसाद पनेरूले जानकारी दिए । एक ठाउँमा कम्तीमा १० हेक्टर क्षेत्रमा धान उत्पादनको विवरण संकलन गरिएको उनले बताए ।

यस वर्ष नियमित वर्षा भएको, रोगव्याधी नदेखिएको र बाढीले पनि धेरै क्षति नगरेकाले उत्पादन बढेको उनको भनाइ छ । ‘गत वर्ष धानमा गोबारो रोग देखिएको थियो, केही ठाउँमा बाढीले पनि क्षति गरेको थियो,’ उनले भने, ‘यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन बढेको देखिएको छ ।’

attariya hospital

धान उत्पादनको पकेट क्षेत्रको रूपमा रहेको कैलालीमा गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ४.७ मेट्रिकटन रहेको ज्ञान केन्द्रले जनाएको छ । आधुनिक प्रविधि र उन्नत बिउको बढ्दो प्रयोगले पनि उत्पादकत्वमा सुधार हुँदै गएको कृषि प्राविधिकहरू बताउँछन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.