पुनर्वास- कञ्चनपुरको पुनर्वासमा इन्स्पेक्टर महेश विक्रम शाही सहितको प्रहरी टोलीमाथि आक्रमणको घटना सेलाएको छ । असोज १० गते राती करिब ९ बजेको समयमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट भ्यान गस्तीमा निस्केका इन्स्पेक्टर शाहीसहित ९ जना प्रहरीमाथि आक्रमण भएको थियो ।
घटना भएको एक महिना पुग्न लाग्दा समेत प्रहरीले आक्रमणकारी पहिचान गर्न नसकेको हो । पुनर्वास नगरपालिका-७, बुद्धचोकमा भइरहेको खड्खडे जुवा नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि केही स्थानीयले आक्रमण गरेका थिए । आक्रमणबाट इन्स्पेक्टर शाहीलगायत अन्य प्रहरीलाई चोटसँगै भ्यान समेत तोडफोड भएको थियो ।


घटनाका विषयमा बुझ्न दोस्रो दिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुगेका थिए । उनको उपस्थितिपछि प्रहरीमा आक्रमणकारी पक्राउ पर्छन् कि भन्ने ठुलो आसा थियो । तर घटनाको एक महिना पुग्दा समेत आक्रमणमा संलग्नहरु पक्राउ नपर्दा निराशा देखिएको छ । यस घटनाले प्रहरीमा मात्रै हैन अन्य स्थानीयहरुमा पनि असुरक्षाको अनुभुति गराएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले घटना अनुसन्धानमै रहेको बताए । ‘घटनामा संलग्नहरु उम्कन पाउँदैनन्, हामी ती व्यक्तिहरुको खोजी गरी कारबाही गरेर छाड्छौ, कुनै पनि दबाबमा रहेर घटनालाई दबाउन खोजेका छैनौ । तत्काल एक्सनमा जाने अवस्था थिएन,’ उनले भने, ‘घटनास्थल मुचुल्का गरेका छौँ, म निरन्तर अपडेटमै छु, एक-दुई जना भएपनि कारबाही हुन्छ ।’
यता, पुनर्वास नगरपालिका क्षेत्रका पसल तथा चोकहरूमा प्रहरीसमेत सुरक्षित नभएको भन्दै आलोचना हुन थालेको छ । प्रहरीले घटना सामसुन पर्न लागेको समेत चर्चा हुन थालेको हो ।


















