कञ्चनपुर- कञ्चनपुरमा पाँचौँ संस्करणको बिपी स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ । समाजसेवी तथा कांग्रेस कञ्चनपुरका युवा नेता स्व. विष्णुप्रसाद मिश्रको स्मृतिमा भीमदत्त नगरपालिका–८ तिलाचौरस्थित त्रिभुवन माविको प्रांगणमा क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता ५ कात्तिकदेखि सुरु हुने बताइएको छ । आयोजक न्यु हिमालय सामाजिक सेवा समितिका अध्यक्ष नारायणसिंह विष्टले प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको बताए । उनले जिल्लाभरका ९२ वटै वडाहरूमा टिम सहभागिताका लागि पत्राचार गरिएको बताए । प्रतियोगिता संयोजक खगेन्द्र धानुकले २९ असोजदेखि कात्तिक ३ गते साँझ ७ बजेसम्म टिम दर्ता हुने बताए । टिम दर्ता शुल्क २० हजार रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताको विजेता टिमलाई नगद एक लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेतालाई ७७ हजार ७७७ रुपैयाँसहित मेडल र ट्रफी प्रदान गरिनेछ । ०६६ सालमा निधन भएका मिश्रको स्मृतिमा ०७२ सालदेखि क्रिकेट प्रतियोगिता हुँदै आएको छ ।


















