एजेन्सी- अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सय जना नाघेको छ । आँधीको हावा, वर्षा र आँधीबेहरीले उत्तरी क्यारोलिना, दक्षिण क्यारोलिना, जर्जिया, फ्लोरिडा, टेनेसी र भर्जिनियामा गरेर कम्तीमा एक सय जनाको ज्यान गएको रोयटर्सले जनाएको छ ।
आज बिहानदेखि आँधी र वर्षा रोकिएपछि खोजी अभियान तीव्र पारिएको छ । अमेरिकी खोज अधिकारीहरूले अझै धेरै शव भेटिन सक्ने अनुमान गरेका खबरमा उल्लेख छ । आँधी तथा बाढी पहिरोले दर्जनौं पुल, सडक, बिजुली, सञ्चार संरचना लगायत ध्वस्त बनाएको छ । २७ लाख जना मानिस बिजुलीविहिन अवस्थामा छन् ।
खानेपानीको पनि अभाव भएको छ । बीमा कम्पनी र पूर्वानुमानकर्ताहरूले १५ अर्बदेखि एक सय अर्ब डलरसम्म क्षति भएको बताएका छन् । उत्तरी क्यारोलिनाका गभर्नर रोय कूपरले यो इतिहासकै ठूलो र विनाशकारी विपत्ति भएको बताएका छन् ।
१९ वटा राज्य र सङ्घीय सरकारका खोज तथा उद्धार टोलीहरू अहिले खटिएका छन् । केही सडकहरू मर्मत गर्न दुई महिनासम्म लाग्न सक्ने अनुमान छ । राष्ट्रपति जो बाइडेनले यस हप्ता प्रभावित क्षेत्रको भ्रमण गर्ने बताएका छन् । प्रभावित क्षेत्रमा आपत्काल घोषणा गरिएको र सहयोगलाई बढाइने उनले बताएका छन् ।