अत्तरिया – सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षका लागि दोस्रो पटक ल्याएको बजेटको चर्को आलोचना भएको छ । भदौ ३१ गते प्रदेश सभामा प्रस्तुत भएको बजेटमाथिको छलफलमा भाग लिने सत्ता पक्ष र विपक्षका प्रदेश सभा सदस्यहरूले बजेटको चर्को आलोचना गरेका हुन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बजेट निर्माण गर्दा विधि प्रक्रिया नअपनाइएको बताए । ‘बजेट इन्ट्रि गर्ने ठाउँमा मन्त्रीहरूको भूमिका देखिएन । यो बजेट निर्माण गर्ने ठाउँ कहाँ हो त’ उनले भने ‘बजेट बनाउनमा सरकार भन्दा बाहिरको संयन्त्रको नियन्त्रण रहेको छ ।’ उनले सरकार जुन सुकै भए पनि यो संयन्त्रले काम गरिरहेको बताए । उनले पहिलेको बजेट र अहिलेको बजेटमा २० प्रतिशत पनि फरक नभएको बताए । उनले यो अवस्था परिवर्तन गर्न संसद्, समिति, नीति आयोगलाई सक्रिय बनाउनुपर्ने बताए । उनले सुदूरपश्चिममा ल्याइने बजेटको सत्ता पक्षबाट विरोध हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले आफूलाई अहिले जिल्ला प्रवेशमै प्रतिबन्ध लगाएको बताए ।
‘मलाई मेरो पार्टीको जिल्ला कमिटीले निर्णय गर्दै योजना पार्न नसकेको भन्दै जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको पत्र पठाएको छ’, धामीले भने, ‘जनताले बजेट ल्याउने भूमिका सांसदको हो भन्ने बुझेका छन् । तर आफ्नै जिल्लामा कहाँबाट र कसरी योजना गए ? थाहा पाउन सकेको छैन ।’
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपनेता अक्कल बहादुर रावलले बजेटको विरोध गर्दै पहाडमा छुटै प्रदेशको माग गरेका छन् । ‘कैलाली कञ्चनपुरको छुटै राज्य बनाउनुहोस्, जुन थारुहरूको पनि माग छ । अब पहाडको पनि छुटै राज्य चाहिन्छ’ उनले भने ‘पहाडका कुना काप्चामा विकास गर्न कति पैसा लाग्छ । त्यहाँ पनि विकास चाहिन्छ नागरिकलाई । अब हामीले बोल्नुपर्ने हुन्छ । कैलाली कञ्चनपुरमा सरकार एकै हुने पहाडमा बजेट चाहिँदैन ? विकास चाहिँदैन ? मन्त्री भएपछि आफ्नो क्षेत्र बाहेक अरू नहेर्ने ?’
उनले बजेट पूर्ण रूपमा गलत भएको बताउँदै बजेट ल्याउने सिस्टम पनि गलत भएको बताए । उनले सुदूरपश्चिमको अहिलेको सरकार ढँटुवा सरकार भएको बताए । उनले एउटा कुरा गरेर अर्को किसिमको बजेट ल्याएको बताए ।
‘सरकारले संघसंस्थामा बजेट हाल्दैनौँ भन्यो तर चाङ छ । बजेट कसले बनाउँछ ?’, रावलले भने, ‘कोटेसनमा ठेकेदारलाई योजना दिएपछि ५० प्रतिशत कमिसन पाइन्छ । नाफा हुन्छ तर उपभोक्ताले त दिँदैनन् । त्यसैले सरकारले ठेकेदारमुखी बजेट ल्यायो ।’
सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्लले सुदूरपश्चिमको राजधानीको विषयमा बजेट किन नबोलेको भन्दै प्रश्न उठाएका छन् । उनले सरकार प्रदेशको संस्थागत इन्सिच्युसनका बारेमा बेवारिसे बनेको बताए । ‘आज हामी सैद्धान्तिक रूपमा चुकेका छौ । हामी हाम्रो संस्थागत इन्सिच्युसनको बारेमा बेवारिसे छौ भने यो सरकारले अन्य कुरा के गर्न सक्छ ?’ उनले भने ‘आज यो बजेटमा राजधानीको बारेमा कहीँ कतै बोलेको देख्नुभएको छ । सुदूरपश्चिमको राजधानी कहाँ हो ?’ उनले डोटीबाट खोसिएको राजधानी दुई तिहाइले गोदावरीमा बनाउने भने पनि अहिले कहाँ गएको भनेर प्रश्न गरे ।
सरकार आफ्नै प्रतिविद्धतामा चुकेको बताउँदै जनताको आवश्यकताका आधारमा बजेट नआएको टिप्पणी गरे ।
सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य खुसीराम डगौरा थारुले सुदूरपश्चिम सरकारलाई लक्षित गर्दै भन्सरिया लोभी, पापी भएको बताए । ‘हामी चेक गर्नका लागि यो बेमान हो भनेर अर्कोलाई दियौ । तर, त्यो डाडु पन्यो पाउने भान्से (भन्सरिया) सबै आफ्नै थालमा हाल्दो रैछ । त्यो कत्तिको लोभी पापी रैछ’ उनले भने ‘लोभी पापी मान्छे समाजको परिवर्तन गर्छु, समाजको अगुवाइ गर्छु, भनेर समाजलाई रूपान्तरण गर्छु भनेर यो सम्भव छैन ।’ उनले सरकारमा इमानदारी कम देखिएको बताए ।
उनले बजेटका २१ बुँदे, ४ बुँदे आधार तयार गरे पनि त्यो कार्यान्वयन नभएको बताए । उनले बजेट जनसङ्ख्या, भूगोल र राज्वश्वको आधारमा विनियोजन गरिनुपर्ने बताए । उनले अहिले तागतको बलमा बजेट विनियोजन भइरहेको बताए । उनले बजेट संशोधन गरेर मात्रै पास गर्नु पर्ने बताए ।
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमा देवी विष्टले गोदावरीमा राजधानी बनाउने विषय बजेटबाट किन हटाइएको भनेर प्रश्न गरिन । उनले विगतका वर्षहरूका बजेटमा प्रदेश राजधानीको विषय उठान हुने गरे पनि यस पटक किन मौन बसेको भनेर प्रश्न गरेकी हुन । ‘७ वर्षदेखि प्रदेश संरचना नबनेपछि बजेट छुट्टिँदै आइरहेको बेला अहिलेको सरकारले त्यो सिस्टमबाटै नै किन हटायो ? किन नामनिसान नै मेटियो ?’ उनले भनिन् ‘बजेटबाट हटाउने नै भए यो प्रदेश नै खारेज गरिदिऊँ । किन चाहियो प्रदेश ?’ उनले राजधानी तोकिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले चुनाव जितेको ६ महिना भित्र राजधानी बनाउने भनेर जनतामा भ्रम छरेको बताइन् ।
उनले अहिले तिनै सांसद सरकारमा गएको बेला बजेटबाट राजधानी राजधानी हटाएको बताइन् । उनले गोदावरीमा राजधानीको विषयमा मुद्दा परेकाले अर्को ठाउँमा राजधानी बनाउन निःशुल्क जग्गा उपलब्ध गराउँछौ भन्ने पनि कता हराए भनेर प्रश्न गरिने । ‘राजधानी निर्माण गर्ने ठाउँमा मुद्दा परेको छ । त्यहाँ हुन सकेन भने मैले निःशुल्क रूपमा जग्गा उपलब्ध गराउँछु र, राजधानीको प्रक्रिया अगाडि बढाउनु पर्छ भने । अहिले त्यो किन छुट्यो’ उनले भनिन ‘त्यो निःशुल्क जग्गा कहाँ गयो । अहिले त्यो किन अगाडि बढ्न सकेन ।’
प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले ३१ भदौमा प्रदेश सभामा चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । राजनीतिक समीकरण फेरिएपछि तत्कालीन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले १ असारमा ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि दोस्रो पटक बजेट ल्याइएको थियो ।
बैठक स्थगित
सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । शनिवार साँझ साढे ५ बजेका लागि बोलाएको स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सचिवालयले सूचना टाँस गर्दै आइतबार बिहान ८ बजे बस्नेगरी बैठक स्थगित भएको जानकारी दिएको छ । प्रदेश सभामा पेस भएको बजेटमाथि शनिवार दिउँसो बसेको बैठकमा छलफल भएको थियो । शनिवार साँझ बस्ने अर्को बैठकबाट बजेट पारित गर्ने तयारी थियो तर सत्तारुढ दलबिचकै आन्तरिक विवादका कारण बैठक बस्न नसकेको दाबी गरिएको छ ।


















