अत्तरिया – कैलालीको अत्तरियामा रहेको जिवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले कृषि उपज संकलन तथा बिक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । निड्स नेपालसँगको सहकार्यमा मंगलबारदेखी सहकारीले संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।
मंगलबार एक औपचारीक कार्यक्रमका बिच संकलन केन्द्रको उद्घाटन गरिएको छ । सहकारीकी अध्यक्ष पुनम कार्किको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका – २ का वडाध्यक्ष यज्ञ महरा रहेका थिए । कार्यक्रममा निड्स नेपालका उपाध्यक्ष धन बहादुर चौधरी (कुस्मी), कार्यक्रम संयोजक विनोद कडारा लगायत गोदावरी नगरक्षेत्रभित्र रहेका विभिन्न सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीकी प्रबन्धक क्षेत्रा साउँदले गरेकी थिईन ।
कार्यक्रममा बोल्दै निड्स नेपालका कार्यक्रम संयोजक कडाराले महिला तथा युवाहरुको जिविकोपार्जनमा सहजता पुग्ने किसिमका विभिन्न कार्यहरु निड्स नेपालले गर्दै आएको बताए । उनले निड्स नेपालको युवा तथा महिला उद्यमशिलता विकास परियोजना अन्तरगत उक्त कार्य गरिएको बताए । स्थानिय क्षेत्रमा उत्पादन हुने विभिन्न स्थानिय जातका दाल, लसुन लगायतका कृषि उपजहरुलाई एकिकृत गर्नका लागि केही गर्नुपर्छ भनेर यो परियोजना सञ्चालन गरिएको उनले बताए ।
उनले सहकारी सँग मिलेर ८ लाखको संयुक्त लगानीमा कोशेली घर र कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याईएको बताए । उनका अनुसार उक्त संकलन केन्द्रबाट स्थानियका साथै पर्यापर्यटनका लागि आउने पर्यटकहरुले पनि स्थानिय उत्पादन खरिद गर्न पाउनेछन । कडाराले उक्त केन्द्रमा विशुद्ध स्थानिय उत्पादन र विषादी नहालेका अर्गानिक उत्पादनहरुको संकलन गरिने र विक्रिवितरण गरिने बताए । उनले बाहिरको भन्दा केन्द्रमा कृषिजन्य उत्पादन केही सस्तो हुने पनि बताए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सहकारीले सुरुवात गरेको कृषिजन्य उत्पादन संकलनको कार्यले नगरको कृषि कार्यमा मद्दत मिल्ने बताए । उनले सहकारीका सदस्यहरुले सहकारीको संकलन केन्द्रमार्फत आफुले उत्पादन गरेका उत्पादनहरुलाई सहज रुपमा खरिदविक्रि गर्न सक्ने बताए । चौधरीले सहकारीको उक्त कार्यले बिचौलियाले लिने नाफा समेत बचत हुने बताए । उनले आफुले सिकेको सिपलाई व्यवहारमा लागु गर्न सके सहकारीले सञ्चालन गर्ने यस्ता किसिमका विभिन्न कार्यहरुलाई सहज रुपमा अगाडी बढाउन सकिने समेत बताए ।
गोदावरी नगरपालिकाकी कृषि शाखा प्रमुख नन्दी मल्लले सहकारीले सदस्यहरुको सहजताका लागि गरेको कृषिकार्य एकदमै उपयुक्त भएको बताईन । उनले सहकारीलाई व्यवसाय सञ्चालन गर्नका लागि सहयोग गर्ने निड्स नेपाललाई पनि धन्यवाद दिईन । गोदावरी नगरपालिकाले पनि यहाँका किसानहरुलाई लक्षित गरेर अत्तरियामा रहेको कृषि हाटबजारमा संकलन केन्द्र सञ्चालन गरेको उनले बताईन ।
कार्यक्रममा सहकारीकी अध्यक्ष कार्किले कृषिक्षेत्रमा उत्पादन भएका सामग्रीहरु खपत गर्न सकिने बजार सहकारी भित्र नै रहेको बताईन । सहकारीका सदस्यहरुले बजारबाट खरिद गरिरहेका सामग्रीहरु सहकारीको संकलन केन्द्रबाट खरिद गर्नसक्ने र ति वस्तुहरु बजारको तुलनामा केही सस्तो र अर्गानिक हुने समेत उनले बताईन । उनले सदस्यहरुले उत्पादन गरेका कृषिउपज वस्तुहरु संकलन केन्द्रमा राखेर त्यसबाट ति उत्पादनहरुलाई बाहिर पु¥याउने योजना रहेको बताईन । उनले भविष्यमा तरकारी र गेडागुडीहरु अर्गानिक रुपमै सदस्यहरुमाझ पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरिन ।
कार्यक्रममा वडाध्यक्ष महराले कृषिको क्षेत्रमा सहकारीले विभिन्न कार्यहरु गर्दै आईरहेको बताए । उनले आगामी दिनहरुमा पनि सहकारीले कृषि सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिई सहकारीलाई अझै राम्रो किसीमले अगाडी बढाउने कुरामा आफु विस्वस्त रहेको बताए ।
निड्स नेपालले उक्त परियोजना कैलालीको चुरे र गोदावरी नगरपालिकामा सञ्चालन गरिरहेको छ । उक्त परियोजनाबाट करिब २५० भन्दा बढी समुह लाभान्वित हुने आंकलन गरिएको छ ।