डोटी– डोटीमा खोलाले बगाउदा एक बालिका बेपत्ता भएकी छन । जिल्लाको के.आई.सिंह गाउँपालिका –४ मा स्थानीय गन्नीगाड खोलाले दूध बेच्न घरबाट हिँडेकी ८ वर्षीया निर्मला चन्दलाई बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय र प्रहरीद्वारा बालिकाको खोजी कार्य जारी रहेको छ । त्यस्तै डोटीको बडीकेदार गाउँपालिका– ४ टिमुटेमा घरमा च्यापिएर दुई जना घाइते भएका छन् । ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीया श्रीमती भागरथी जेठारा घाइते भएको प्रहरीले जनाएको छ ।

घरमाथि पहिरो खस्दा गएराती उनीहरू घाइते भएका हुन् । पहिरो खस्दा दर्जनौं बाख्रा च्यापिएर मरेको प्रहरीले जनाएको छ । त्यस्तै पहिरोमा परी ४ वटा गाईगोरु पनि मरेका छन् ।

















