अत्तरिया – कैलालीको अत्तरियामा व्यापारीहरुले विषादी परीक्षणबिनै तरकारी बेच्ने गरेको पाइएको छ । व्यापारीहरुले विषादी परीक्षणका लागि लगिएको नमुनाको रिपोर्ट नआउँदै तरकारी बेच्ने गरेको पाइएको हो । विषादी परीक्षणको वास्ता नै नगरी नागरिकको स्वास्थ्यमाथि खेलवाड हुने काम व्यापारीहरुबाट भइरहेको पाइएको छ ।

अत्तरियास्थित विषादी अवशेष द्रुत विश्लेषण इकाइको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा मात्रै सङ्कलन गरिएका तरकारीका १२ नमुनामा विषादी पाइँदा तीमध्येका तीन नमुनाका तरकारी विक्री गरिसकिएका थिए । बाँकी नौ नमुनाका तरकारी भने नष्ट गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा पनि सङ्कलन गरिएका तरकारीका १६ ओटा नमुनामा विषादी पाइएको थियो । तीमध्ये पनि पाँच ओटा नमुनाका तरकारी विक्री भइसकेका थिए । बाँकी रहेका ११ नमुनाका तरकारी नष्ट गरिएको थियो ।

यसरी तरकारी व्यापारीहरु सचेत हुनुको साटो बारम्बार गल्ती दोहोर्याइरहेका देखिएका छन् । विषादी अवशेष द्रुत विश्लेषण इकाइका प्राविधिक राजेन्द्रप्रसाद भट्टले व्यापारीहरुले विषादी परीक्षणको रिपोर्ट आउँदासम्म नकुरी तरकारी बेचिदिने गरेको बताए । ‘यता हामी परीक्षणका लागि स्याम्पल (नमुना) लिएर आउँछौँ, उता बजारमा रिपोर्ट नआउँदै तरकारी विक्री भइसकेको हुन्छ’, उनले भने, ‘विषादी भेटिएको सबै तरकारी नष्ट गर्न पाइएको अवस्था छैन ।’

उनका अनुसार तरकारी तथा फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादीको रोकावट प्रतिशत भेटिएमा खानयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म विषादीको रोकावट प्रतिशत (यल्लो लेबल) भेटिएमा केही दिन भण्डारण गरेर पुनः परीक्षण गरी उपभोग गर्न सकिन्छ । ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट प्रतिशत भेटिएको तरकारी खान अयोग्य (रेड लेबल) हुने भएकाले नष्ट गर्ने गरिएको छ ।
गत आर्थिक वर्षमा परीक्षणका लागि ल्याइएका तरकारीका चार ओटा नमुना यल्लो लेबलको पाइएकोमा एक ओटा नमुनाको तरकारी विक्री भइसकेको थियो । जुन भण्डारण गर्न पाइएन । त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा पनि आठ ओटा नमुना यल्लो लेबलका भेटिएकामा चार ओटा नमुनाको तरकारी विक्री भइसकेको थियो । केही दिन भण्डारण गरेर पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने भएपनि व्यापारीहरुले रिपोर्ट नै नकुरी विक्री गरिदिएको पाइएको हो ।
विषादी अवशेष द्रुत विश्लेषण इकाइ प्रमुख प्रमोद ठगुन्नाले अत्तरियामा बढीजसो डोटी, बैतडी, डडेल्धुराबाट तरकारीहरु आउने गरेको बताए । ‘प्रायजसो डडेल्धुरा, बैतडी, डोटीबाट आउँछ तरकारी, अब कैलाली कञ्चनपुर त स्वतः भइ नै हाल्यो दार्चुलाबाट पनि आउँछ’, उनले भने, ‘जहाँ मूल्य बढी पायो त्यसरी नै आउने हो तरकारी ।’

उनी किसानहरुले सकेसम्म विषादी प्रयोग गर्न नहुने र गर्नै परे विशेष सजगता अपनाउनुपर्ने बताउँछन् । ‘सुरुमा चैँ विषादी प्रयोग गर्नुपर्ने अवस्था नै आएको हो कि हैन यकिन गर्नुपर्यो, त्यसका लागि वडा–वडामा कृषि प्राविधिकहरु चाईँ खटाइदिएको छ नेपाल सरकारले, नभए नौ वटै जिल्लामा कृषि ज्ञान केन्द्र छन्, यी सम्बन्धित निकायबाट समस्या के भएको हो जानकारी लिनुपर्यो ।’ विषादी प्रयोगको कति दिनपछि उपभोग गर्न मिल्छ त्यो हेरेर सोही अनुसार उपभोग गर्नुपर्ने उनी बताउँछन् ।
इकाइ प्रमुख ठगुन्नाले घरमै मल तथा विषादीहरु बनाएर प्रयोग गर्नुपर्नेमा जोड दिए । ‘तरकारीमा कुनै किरा लाग्छ भने त्यसको रामवाण भनेको निमजन्य विषादी हो, जुन घरमै बनाउन सकिन्छ, अनि झोल मलहरुको प्रयोग एकदमै राम्रो छ’, उनले भने । उनले इकाइमा जम्मा दुई ओटा किटनाशक समूहको विषादी जाँच गर्ने गरिएको बताउँदै त्यो दुई समूहको विषादी नपाइए पनि अन्य विषादी तरकारीमा पाइन सक्ने बताए । ‘हामीले जम्मा दुईटा किटनाशक समूहको विषादी चेक गर्ने गर्या छौँ, हामीकहाँ उपलब्ध भएको स्रोत साधनले चेकजाँज गर्ने भनेको दुईटा किटनाशक समूहको विषादी मात्रै हो, कार्बोमेट र अर्गानोफस्फेट’, उनले भने ।
विषादी परिक्षणका लागि विशेष गरी अत्तरियामा रहेको कृषि हाट बजारबाट नमुना सङ्कलन गरिँदै आएको छ । हाटबजारमा भित्रिएको तरकारीमा पटक–पटक विषादीको मात्रा भेटिँदा यसको गम्भीर असर जनस्वास्थ्यमा पर्ने चिन्ता गरिएपनि निराकरणका लागि भने खासै ठोस पहल भएको देखिँदैन ।
कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले बैतडी लगायतका जिल्लाबाट आउने तरकारी कृषि हाटबजारमा नआई बजारमा सिधै व्यापारीहरुकहाँ पुग्ने हुँदा विषादी परीक्षण प्रभावकारी बन्न नसकेको बताए । ‘बैतडी अनि विभिन्न जिल्लाबाट जुन तरकारी आउँछ पहिले तिनीहरु बजारका व्यापारी र फुटकर व्यापारीलाई बेचिसक्या हुन्छन्, अन्तिममा याँ आउँछ, याँ आइसकेपछि जब हामी परीक्षण गर्छौँ विषादी पाइन्छ, त्यतिञ्जेल आधा बेचिसक्या हुन्छ तरकारी’, उनी भन्छन् ।
उनी यसो हुन नदिन स्थानीय एवम् प्रदेश सरकारले कडाइ गर्नुपर्ने बताउँछन् । ‘एउटा व्यवस्थापन गर्नुपर्ने के थियो त भने स्थानीय सरकार प्रदेश सरकारले पहिले मार्केटमा आउने त्याँ परीक्षण गरिसकेपछि उपभोक्ताकहाँ र फुटकरकहाँ जाने हुनुपथ्र्यो, यसरी रोक्न सजिलो पनि हुन्छ’, उनी भन्छन्, ‘अब प्रत्येक पसल–पसलमा तरकारी पुगिसक्या हुन्छ, पछि गएर हामीलाई थाहा हुन्छ त्यल्ले गर्दा बडा अप्ठेरो भइराछ ।’
उनका अनुसार कृषि हाटबजारमा आएको तरकारीको विषादी परीक्षण गर्ने गरिएको छ । बाहिर बजारको तरकारी पनि परीक्षण हुन्छ तर परीक्षण हुँदासम्म धेरैजसो तरकारी विक्री भइसकेको हुन्छ । ‘यसको नीति के हो भने पहिला कृषि थोक बजारमा आउने, थोक बजारमा परीक्षण गराएर अनि बजारमा जाने हो, तर याँ त्यसको ठिक्क उल्टो छ’, उनले भने, ‘बजारमा २० क्वीन्टल बेचिसक्या छ भने थोक बजारमा दुई क्वीन्टल आउँछ, १८ क्वीन्टल त बजारमै व्यापारीहरुले बेचिसक्या हुन्छन् ।’ उनी स्थानीय सरकारले व्यवस्थापन गर्न सके मात्रै उपभोक्ताको स्वास्थ्यको ख्याल गर्न सकिने जिकिर गर्छन् । स्थानीय सरकार जिम्मेवार बने किसानहरुलाई समेत सजग गराउन सकिने उनी बताउँछन् ।
कृषि उपजमा अन्धाधुन्द विषादी प्रयोगले क्यान्सर, प्रजनन शक्तिमा ह्रास, मस्तिष्कमा क्षति, श्वासप्रश्वास प्रणालीसम्बन्धी, मिर्गौलासम्बन्धी गम्भीर रोगहरू आदि लाग्ने अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।