काठमाण्डौं – पूर्वी नेपालमा निरन्तरको वर्षाले जनधनको क्षति हुँदा पश्चिम नेपालमा भने खडेरी लागेको छ । गएको जेठ २८ गते पूर्वी नेपालमा मनसुनको प्रवेश भएदेखि नै निरन्तरजसो पानी परिरहेको छ । विशेष गरेर लुम्बिनीको पश्चिमी क्षेत्र, कर्णाली र सुदूरपश्चिममा भने पानी पर्न सकेको छैन ।

अहिले पूर्वी नेपालका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, मोरङ, झापा, पाँचथरलगायतका जिल्लामा दिनहुँजसो ठूलो पानी परिरहेको छ । बाढी र पहिरोले जनधनको क्षति नै गरेको छ ।


ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गएको बुधवारयता ताप्लेजुङमा पहिरोमा परि पाँच जनाको ज्यान गइसकेको छ । ५५ वटा पशुचौपाया मरेका छन् । मनसुन पूर्णरूपमा सक्रिय नहुँदै बाढी पहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङका ६१ मध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा छन् ।

















