खाेज्नुहाेस

बेलौरीमा सडक कालोपत्रे हुँदा आलोचना !

Image
Exif_JPEG_420

बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ मा रहेको एक सडक कालोपत्रे गरिएको छ । आदर्श टोल रहेको चोकबाट चौधरी टोल जाने सडक कालोपत्रे भएपछि वडाध्यक्षले खुसी व्यक्त गरेका छन् भने स्थानीयले आलोचना गरेको पाइएको छ ।

वडाध्यक्ष किसनसिंह रानाले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘७ वर्षपछि बेलौरी नगरपालिका नौ नम्बर वडामा नगरपालिकाको वजेटबाट बाटो कालोपत्रे गरिँदै’ भनेर तस्बिर साझा गरेका छन् । वडाध्यक्षको उक्त पोष्टमा स्थानीयले सो सडक कालोपत्रेको आलोचना गरेका छन् ।

attariya hospital
navjiwan hospital

उक्त वडाका स्थानीयले व्यङ्ग्यात्मक रुपमा आलोचना गर्दै कमेन्टमा भनेका छन्, ‘बेलौरी न.पा.९ को सबैभन्दा व्यस्त सडकखण्ड कालोपत्रे गर्नुभएकोमा सरोकारवाला सबैलाई धन्यवाद’, ‘बेलौरी नगरपालिका हुँदै अन्य पालिका जोड्ने व्यस्त सडक’ ‘मौकामा चौका हान्ने हो, आवश्यकता, प्राथमिकताको महत्व भएन ।’ त्यस्तै, ‘अन्य बाटाहरु बन्न अझै कति वर्ष कुर्नुपर्ने हो ?’ भन्दै प्रश्न समेत गरिएको छ ।

जंगलको किनारै किनार रहेको नहरको सडकसँग अहिले कालोपत्रे गरिएको बाटो जोडिन्छ । सो सडक बेलडाँडी हुँदै बेलौरी बजार जोड्न छोटो पर्ने भएकाले उक्त बाटो कालोपत्रे गरिएको वडाध्यक्ष रानाको भनाइ छ । स्थानीयहरुले भने कम प्रयोग हुने र बस्ती पनि एकदमै कम भएकाले उक्त बाटो कालोपत्रे गरिनुको खासै औचित्य नभएको बताएका छन् ।

नगरपालिकाले वडामा आर्थिक वर्ष २०८०/०८१ मा १६ लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षको अन्तिममा करिब २६ लाख बजेटको कोटेशनमा २९० मिटर बाटो बनाउन विपि कन्ट्रक्सनलाई जिम्मा दिइएको हो । २ सय मिटर बाटो बनाउन नगरपालिकाले सुरुमा करिब १५ लाख बराबरको बजेट छुट्याएको थियो । त्यत्तिले बाटो अधुरो नै रहने भएपछि नगरप्रमुख र इन्जिनियरसँग आग्रह गर्दै ११ लाख बजेट बराबर थप गरी करिब ३ सय मिटर बाटो बनाउन लागिएको वडा अध्यक्ष रानाले बताए ।