अत्तरिया – कैलालीका गोदावरी नगरपालिका मातहत सञ्चालित सहकारीले सम्पत्ति १ अर्ब नाघेको छ । नगरपालिकाले संकलन गरेको सहकारीको एकीकृत वित्तिय विवरणमा आर्थिक वर्ष २०७९/८० मा नगर मातहत रहेका ३८ सहकारीको सम्पत्ति १ अर्ब ५ करोड ८ लाख ४१ हजार १९ पुगेको हो । गोदावरी नगरपालिका मातहतमा हाल ४० वटा सहकारी रहेका छन । २ सहकारीको भने सम्पत्ति विवरण उपलब्ध नभएको नगरपालिकाले जनाएको छ ।
नगरका ४० सहकारीमा हाल १५ हजार ९२८ महिला र ७ हजार ८१ पुरुष गरी २३ हजार ९ सदस्य रहेको नगरपालिकाको सहकारी शाखा प्रमुख दिव्यराज जोशीले बताए । नगरपालिका मातहत रहेका सहकारीको शेयर पुँजी १३ करोड ७५ लाख ६३ हजार ४३ पुगेको छ भने ति सहकारीले ६४ करोड ९३ लाख ७८ हजार ७४० रुपैयाँ बचत संकलन गरेका छन । नगर मातहत रहेका ३५ सहकारीहरुको कुल ऋण लगानी ८१ करोड ६८ लाख ९१ हजार १०४ पुगेको शाखा प्रमुख जोशीले बताए । जसमा ५ सहकारीले ऋण लगानी भने शून्य रहेको छ ।

३७ वटै सहकारीको जगेडा कोषमा ५ करोड १५ लाख ३८ हजार ७७० रुपैयाँ रहेको छ । बाँकी ३ सहकारीको जगेडा कोषमा पनि शून्य रहेको नगरपालिकाको सहकारी वित्तिय विवरणमा उल्लेख छ । नगरपालिका मातहत रहेका ३७ वटा सहकारीमा १०१ महिला र ३८ पुरुष गरी १८७ जनाले रोजगारी पाएका छन । ३ वटा सहकारीमा भने कर्मचारीको विवरण शून्य छ ।
यी हुन धेरै सम्पत्ति भएका सहकारी

नगर मातहत रहेका सहकारीमा केही धेरै कारोबार गर्ने सहकारी छन भने केही नामका मात्रै पनि सहकारी रहेका छन । सेयर सदस्यको आधारमा सबैभन्दा धेरै सेयर सदस्य भएको सहकारीका रुपमा जीवन ज्योति महिला विकास बहुउद्देश्यीय सहकारी रहेको छ । जसमा ३ हजार ७८९ महिला आवद्ध छन । यस्तै सबैभन्दा कम सेयर सदस्य रहेको सहकारीका रुपमा प्रगतिशील कृषि सहकारी रहेको छ । जसमा ३४ जना आवद्ध छन । नगरमा महिला मात्रै सेयर सदस्य रहेका सहकारी ३ वटा रहेका छन ।
धेरै सेयर सदस्य भएको जीवनज्योति सेयर पुँजी, कुल बचत, कुल सम्पत्ति र कुल ऋण लगानी सबैभन्दा धेरै छ । जीवनज्योतिको शेयर पुँजी ३ करोड ४ लाख १३ हजार, कुल बचत १७ करोड ६७ लाख २१ हजार ६०९, कुल सम्पत्ति २५ करोड १० लाख ५४ हजार ८४७ र कुल ऋण लगानी १८ करोड ७९ लाख, ४९ हजार ८४८ रहेको छ ।
कुल सम्पत्ति अधिक भएको दोस्रो सहकारीका रुपमा सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारी रहेको छ । यसको कुल सम्पत्ति २३ करोड ३७ लाख, २ हजार ३६० तेस्रो स्थानमा रहेको मानाङ्क बचत तथा ऋण कुल सम्पत्ति १९ करोड ८१ लाख ५१ हजार १५२ रहेको छ । अन्य सहकारीको सम्पत्ति भने १० करोड भन्दा कम रहेको छ ।
कृषि सहकारी धेरै
नगरपालिका मातहत रहेका सहकारीमा कृषि सहकारी धेरै रहेका छन । नगर मातहतमा २३ वटा कृषि सहकारी हुँदा, बहुउद्देश्यीय सहकारी ६, बचत तथा ऋण सहकारी ४ र ग्रामीण विद्युत सहकारी ७ रहेका छन । कृषि सहकारीमा वडा नम्बर १ का समानता, अत्तरिया, भरतपुर, सामुदायिक गरिबी निवारण, सुन्दर सुदूरपश्चिम रहेका छन । वडा नम्बर २ का कृषि सहकारीमा किसान कृषि, वडा नम्बर ३ मा जयमालिका, सञ्जाल, गोदावरी महिला, सुप कुखुरा, वडा नम्बर ४ मा प्रगतिशील, वडा नम्बर ५ मा कल्याणकारी, वडा नम्बर ६ मा जननौलो, वडा नम्बर ८ मा सिद्ध बाबा, सद्भाव, वडा नम्बर ९ मा खप्तड, आदर्श, वडा नम्बर १० मा नागरिक, प्रगतिशील, गौरीशंकर, वडा नम्बर ११ मा गोदावरी र वडा नम्बर १२ मा ओलानी र नायल कृषि सहकारी रहेका छन ।
त्यस्तै वडा नम्बर १ मा गोदावरी, वडा नम्बर २ मा उज्यालो, जीवन ज्योती, थ्रिडिभिएल, वडा नम्बर ३ मा मालाखेती र वडा नम्बर ८ मा सृजनशील महिला सहकारी बहुउद्देश्यीय रहेका छन । वडा नम्बर २ मा मनाङ्क, प्रगति, वनदेवी र वडा नम्बर ११ मा बागेश्वरी सहकारी बचत तथा ऋण सहकारीका रुपमा काम गरिरहेका छन । नगरमा ७ वटा विद्युत सहकारी छन । जसमा वडा नम्बर ६ मा जय माँ, राम जानकी, वडा नम्बर ७ मा सरस्वती, दुर्गा देवी, वडा नम्बर ८ मा जयलक्ष्मी, महाशिव र वडा नम्बर ९ मा ग्वासी समैजी विद्युत सहकारी रहेका छन ।
















