खाेज्नुहाेस

गोदावरीमा राम जानकी मन्दिर अलपत्र

Image

अत्तरिया – कैलालीको गोदावरी धाममा निर्माणाधीन राम जानकी मन्दिर अलपत्र परेको छ । ६ वर्ष अगाडि देखि निर्माण सुरु गरिएको राम जानकी मन्दिर बजेट अभावमा अलपत्र परेको हो । मन्दिरको २०७४ साल राम नवमीका दिन शिलान्यास गरेर काम सुरु गरिएको थियो । मन्दिर निर्माणका लागि ५ करोड ९३ लाखको डीपीआर तयार पारेर आर्थिक वर्ष २०७४/७५ मा गोदावरी नगरपालिकाबाट १६ लाख बजेट विनियोजन गरिएपछि मन्दिरको निर्माण सुरु गरिएको थियो । पछि थप साढे ४ लाख मन्दिरका लागि विनियोजन गरेर मन्दिरको फाउण्डेसनको काम गरिएको हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र शाहीले बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/०७७ मा ३० लाख र २०७७/७८ मा ४० लाख बजेट विनियोजन गरेर हालको अवस्थामा मन्दिर पुगेको भएपछि त्यसपछि काम रोकिएको बताए । करिब ९० लाख खर्च गरेर अलपत्र परेको मन्दिर परिसरमा हाल घाँस उम्रिएको छ । पाँच तले मन्दिर बनाउने भनेर डीपीआर तयार पारिएको भएपनि पहिलो तलाको छानो नहाल्दै मन्दिर अलपत्र परेको हो ।

attariya hospital

मन्दिर निर्माण समितिका अध्यक्ष शाहले बजेटका लागि स्थानीय, प्रदेश र संघीय सरकार सँग आग्रह गरेपनि सुनुवाइ नभएको बताए । ‘स्थानीय, प्रदेश र संघको चुनाव चलिरहेका बेला कसैले पनि बजेट छुट्याउन मानेनन्’ उनले भने ‘चुनाव पछि बजेट माग्दा मन्दिरमा बजेट हालेर हुन्छ भन्न थाले । बजेट नभएपछि मन्दिर अलपत्र परेको छ ।’

navjiwan hospital

उनले बजेट माग गर्दै प्रदेशका मन्त्रीहरूलाई मन्दिरको अवलोकन समेत गराएको बताए । चालु आर्थिक वर्षमा प्रदेशबाट ३५ लाख बजेट विनियोजन गरिएको भनिएपनि बजेट कार्यान्वयनमा भने नआएको उनले बताए । उनले मन्दिरको पहिलो तलाको ढलान गर्नको लागि एकमुष्ट ६५ लाख आवश्यक पर्ने भएकाले प्रदेश सरकारले छुट्याएको ३५ लाख कसरी खर्च गर्ने भन्ने अन्योल रहेको बताए ।

हनुमान मूर्तिको पछाडि निर्माणाधीन राम मन्दिर बने गोदावरीको पर्यटन विकासमा पनि टेवा पुग्ने मन्दिरका पुजारी विजय सिह ठगुन्नाले बताए । उनले लामो समय देखि राम जानकी मन्दिर अलपत्र पर्नु दुखद भएको बताए । मन्दिरको छिटो निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने उनको माग छ ।

राम मन्दिर परिसरको आश्रममा हाल ३ जना बस्दै आएका छन । उनीहरूले मागेर खाने गुजरा गर्दै आएका छन । आश्रममा बस्दै आएका बन्दी दासले समितिले बेवास्ता गर्दा आफूहरू मागेर खानुपर्ने अवस्था रहेको बताए । स्थानीय शेर बहादुरले अधुरो मन्दिर अलपत्र परेको देख्दा मन दुख्ने गरेको बताए । मन्दिरको छत सम्म निर्माण गरिए पूजाआजा गर्न सहज हुने उनको भनाइ छ ।

कैलालीको गोदावरी नगरपालिका – ४ मा पर्ने गोदावरी धाम क्षेत्रमा हाल बिभिन्न समितिहरू मार्फत मन्दिर लगायतका संरचना निर्माण हुँदै आएका छन । ठूला योजना बनाएर समितिहरू मार्फत काम सुरु गरिएपछि बजेट अभावका कारण ति योजना अलपत्र पर्ने गरेका छन ।