अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको जिवनज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार प्रगती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थासँगको एकिकरण पछिको संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको हो । यसअघि जिवनज्योती एक्लैको १९ औं वार्षिक साधारण सभा सम्पन्न भैसकेको छ ।
संस्थाले एकिकरण पश्चात नगरपालिकाकै वडा नं. १२ ओलानीमा शाखा खोलेर सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाको कार्य विस्तार गर्न, संस्थाको दोहोरो सदस्यता नियन्त्रण गर्न तथा सहकारीहरुको आवश्यक भन्दा बढी संख्याहरु घटाउन एकिकरण गरिएको संस्थाकी प्रबन्धक क्षेत्रा साउँदले बताईन । उनले एकिकरणले संस्था सञ्चालनको फजुल खर्च कटौति गर्नुका साथै महिलालाई बहुउद्देश्यिय कार्य गर्न पनि टेवा पुगेको बताईन् ।

संस्थाको बलियो संगठन निर्माण गरी संगठनिक एवम् व्यवसायीक सक्षमता हासिल गर्न, आर्थिक मन्दी व्यवस्थापनमा सहयोग पु¥याउन, सदस्यहरुलाई दोहोरो ऋणको चपेटाबाट जोगाउन, सदस्यहरुलाई उद्यमशिल र व्यवसायमुखी बनाउन, छरिएर रहेका स्रोत साधनहरुलाई एकिकृत गरी अधिकतम प्रयोग र व्यवस्थापन गर्न पनि एकिकरणले मद्दत गरेको उनले बताईन् । हाल दुवै शाखामार्फत सहकारीले शेयरसदस्यहरुलाई विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आईरहेको संस्थाकी प्रबन्धक क्षेत्रा साउँदले जानकारी दिईन । नियमित अनुगमन हुन थालेपछि सहकारीमा आवद्ध शेयरसदस्यहरुले सहकारीबाट लिएको ऋणको सही सदुपयोग गरिरहेको र सो कार्यबाट उनिहरु स्वरोजगार समेत बनेको उनले बताईन् । उनका अनुसार संस्थाबाट करिब ८३६ जना महिलाहरुले ऋण लिएर उद्यमशिल कार्य गर्दै आईरहेका छन । उक्त कार्यबाट उनिहरु स्वरोजगार समेत बनेको प्रबन्धक साउँदले बताईन् ।
उनले सहकारीले किसान परियोजना र ज्ञान केन्द्रसँग समन्वय गरी ८ जना किसानहरुको जमिनमा सिँचाईका लागि मोटर जडान गरेको समेत बताईन् । सहकारीले महिलाहरुलाई उद्यमसगँ जोड्नका लागि विभिन्न सिपमुलक तालिम पनि प्रदान गर्दै आईरहेको उनको भनाई छ । त्यसका साथै कृषि कार्यमा आवद्ध महिलाहरुलाई सहजताका लागि माटो परिक्षण गर्ने कार्य गरेको र त्यसको प्रतिवेदन पश्चात उपचार गर्दा कृषीजन्य उत्पादनमा वृद्धि भैरहेको उनले बताईन । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहकारीले अझै पनि विभिन्न योजनाहरु अघि सारेको बताईन् ।
संस्थाकी अध्यक्ष पुनम कार्किको सभापतित्वमा सम्पन्न सभाकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेकी थिईन भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया रहेकी थिईन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
एकिकरण पश्चात कारोबार र नाफामा वृद्धि
दुई महिला सहकारीबिच एकिकरण भएपश्चात संस्थाको वार्षिक कारोबार र नाफा दुवैमा वृद्धि आएको छ । गत वर्ष १७ करोड ६७ लाख ३१ हजार ६० रुपैयाको कारोबार गरेको संस्थाले आर्थिक वर्ष २०७९/०८० मा भने २५ करोड १० लाख ५४ हजार ४७ रुपैया बराबरको कारोबार गरेको छ ।

यसैगरी संस्थाले खुद मुनाफा पनि करिब २१ लाख बढी आर्जन गरेको छ । गत वर्ष ६१ लाख ६३ हजार ८४९ रुपैया खुद मुनाफा रहेको संस्थाको आर्थिक वर्ष २०७९÷०० को मुनाफा रकम बढेर ८२ लाख ६९ हजार १६७ पुगेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीमा एकिकरण हुनु राम्रो हो : प्रदेश सभा सदस्य देवकोटा
यसैबिच सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य तुलसी देवकोटाले सहकारीहरु एकिकरण हुनु राम्रो भएको बताईन् । उनले महिलाहरुलाई एउटा सहकारीमा आवद्ध गर्न र महिलाहरुलाई बढी लगानी दिन सक्ने वातावरण बनाउनका लागि पनि एकिकरण जरुरी रहेको बताईन् । एकिकरणका लागि महिलाहरुमा एकरुपता हुन आवश्यक रहेको र जिवनज्योती र प्रगतीका महिलाहरुले एकरुपता देखाएको उनले बताईन् ।
‘हामीले पनि यो क्षेत्रका सबै महिला सहकारीहरुलाई एकिकरण गर्ने योजना बनाएका थियौँ, त्यतिखेर सम्भव भएन’ उनले भनिन् ‘तर यो सहकारीले दुई सहकारीहरुलाई एकआपसमा ल्याउन सफल भएको छ, यो एकदमै राम्रो काम हो ।’ उनले महिला सहकारीहरुले महिलाहरुको हकहितका लागि काम गर्दै आईरहेको बताईन् । उनले महिलाहरुलाई व्यवसायतर्फ उन्मुख गराउन र स्वरोजगार बनाउन सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताईन् ।
‘विभिन्न वित्तिय संस्थाहरु ह्रास भैरहेको अवस्थामा सहकारीले लगानीको बिटो थामेको छ’ उनले भनिन् ‘बैंकिङ्ग क्षेत्रभन्दा पनि सहज रुपमा महिलाहरुलाई उद्यमशिलताका लागि सहकारीहरुले लगानी गरिरहेका छन ।’ उनले सहकारीकै कारण पछिल्लो समय धेरै महिलाहरु आत्मनिर्भर बनेको समेत बताईन् ।
अध्यक्षमा कार्कि
संस्था एकिकरण पश्चातको साधारण सभाबाट पुनम कार्किको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । यसअघि तदर्थ समितिको अध्यक्षमा पनि पुनम कार्कि नै चयन भएकी थिईन । साधारण सभाले कार्किलाई नै आगामी कार्यकालका लागी अध्यक्षमा चयन गरेको हो । सभाबाट तदर्थ समितिका प्रायजसो सबै अनुहारहरु आगामी कार्यकालका लागि समितिमा चयन भएका छन ।
संस्थाको उपाध्यक्षमा डम्मरी कुँवर, सचिवमा मनिषा बोहरा र कोषाध्यक्षमा रेनुका बि.क चयन भएका छन । यसैगरी सदस्यहरुमा बसन्ती अधिकारी, महेश्वरी खत्री, मनु चौधरी, सानु बि.क, भागरथी रोकाया कठायत, बन्दना बिष्ट, दिपिका भट्टराई, लक्ष्मी भट्ट र बिमला सेराला चयन भएका छन । सभाले लेखा तथा सुपरिवेक्षण समितिमा भने उलटफेर गरेको छ । समितिको संयोजकमा यसअघि सदस्य रहेकी शारदा सुवेदी चयन भएकी छन भने सदस्यहरुमा बेलमती खत्री र चन्द्रावती जोशी चयन भएका छन ।















