धनगढी – सुदूरपश्चिममा आयोजना गरिने लगानी सम्मेलनका लागि सहयोग गर्ने प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आश्वासन दिएका छन । प्रधानमन्त्री प्रचण्डलाई सम्मेलनमा सहभागिताका लागि शनिबार निम्तो दिन पुगेको सुदूरपश्चिमका मुख्यमन्त्री सहितको टोलीलाई प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने आश्वासन दिएका हुन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह, सभामुख भीम भण्डारी सहित संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउद, प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाही, सामाजिक विकासमन्त्री झपट साउदसहित माओवादी संसदीय दलका नेता खगराज भट्ट माओवादी सांसद ओम विक्रम भाट सरल र लक्ष्मी बिक थिए ।


उनीहरुले सुदूरपश्चिम प्रदेशमा लगानी भित्राउन पहल गर्न र लगानी एवं विकास सम्मेलनमा संघीय सरकारले सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले तत्काल मन्त्रिपरिषद् बैठकबाट सुदूरपश्चिममा आयोजना हुने लगानी एवं विकास सम्मेलनमा सहयोग र समन्वयन गर्ने आश्वासन दिएका हुन् । सुदूरपश्चिम सरकारले उक्त सम्मेलनको प्रमुख अतिथिको लागि पनि प्रधानमन्त्रीलाई निम्ता दिएको थियो ।
प्रधानमन्त्री प्रचण्डलाई भेटिसकेपछि मुख्यमन्त्री शाह, भौतिक मन्त्री देउवा र आर्थिक मामिला मन्त्री शाहीले संघीय सरकारका अर्थमन्त्री प्रकाश शरण महतलाई समेत भेटेका थिए । उक्त भेटमा पनि लगानी एवं विकास सम्मेलनमा संघीय सरकारले नीतिगत सहयोग गर्न प्रदेश सरकारले आग्रह गरेको थियो ।
यस अघि सुदूरपश्चिम प्रदेश सरकारले लगानी एवं विकास सम्मेलनको लागि उद्योग वाणिज्य महासङ्घबीच लगानी सम्झौता गरिसकेको छ । यो सम्मेलन सुदूरपश्चिमको विकासको सम्भाव्यता पहिचान, पुँजी निर्माण र प्रदेशको समग्र विकासको कोशेढुंगा बन्ने प्रदेश सरकारले अपेक्षा राखेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले फागुन २३ र २४ गते लगानी एवं विकास सम्मेलन गर्दै छ ।















