अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ मा पर्ने सुरक्षा महिला सामुदायिक वनमा निर्माण गरिएको हाइटेक नर्सरी हाउस प्रयोग विहीन बनेको छ । ६ वर्ष अगाडि जडीबुटी खेती गर्ने उद्देश्यले निर्माण गरिएको हाइटेक नर्सरी हाउस र सेड हाउस प्रयोग विहीन बनेका हुन । बिरुवाका लागि अनुकुल तापक्रम मिलाउन मिल्ने उक्त नर्सरीमा महङ्गो र यस क्षेत्रमा उत्पादन गर्न नसकिने बिरुवा उत्पादन गर्ने गरी निर्माण गरिएका भएपनि अहिले प्रयोग विहीन भएका हुन ।
सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले हाइटेक नर्सरीमा पहिलो वर्ष कुरिलो बेर्ना उत्पादन गरिएको भएपनि बिरुवाको उचित मूल्य नपाउँदा त्यसपछि नर्सरीलाई निरन्तरता दिन नसकिएको बताइन । ‘हाइटेक नर्सरीमा लागत बढी परेको थियो । हामीले ८ रुपैयाँमा बिक्री हुने अपेक्षा गरेको कुरिलोको बोट २ रुपैयाँमा बिक्री गर्नु प¥यो’ उनले भनिन ‘सामूहिक रुपमा महिलाहरूले मिलेर खेती गरेकाले लागत पनि नआएपछि कसैले काम गर्न मानेनन् ।’

वन उपभोक्ता समुह मध्येबाट १५ जना छुटै समुह बनाएर हाइटेक नर्सरी र सेड हाउसमा महिलाहरूले बिरुवा उत्पादन गरेका थिए । तर, नेपाली कुरिलोको बजारमा नै गिरावट आउँदा बेर्ना बिक्री नभएपछि उनीहरु मारमा परेका हुन ।

अध्यक्ष भण्डारीले हाल हाइटेक नर्सरीमा जडान गरिएका मोटर, स्टप्लाइजर लगायतका इलेक्ट्रोनिक सामान पनि चोरी भएको बताइन । उनले नर्सरीमा बाँदरले पनि प्लास्टिक च्यातेकोले प्रयोग गर्न सक्ने अवस्था नभएको बताइन । उनले वन कार्यालय सँग सहकार्य गरेर हाइटेक नर्स मर्मत गरी बिरुवा उत्पादन गर्ने योजना बनाएको बताइन । उनले नर्सरीलाई पुनः सञ्चालनमा ल्याउनको लागि वन कार्यालय सँग कुरा भइरहेको बताइन ।
जडीबुटी बिरुवा उत्पादन गर्न ईनमेप्स परियोजना अन्तरगत नेपाल जडीबुटी व्यवसायी संघ कैलाली शाखाले ९ लाखको लागतमा हाईटेक ग्रीन हाउस र ५ लाखको लागतमा सेड हाउस निर्माण गरेको थियो । नर्सरीमा बिरुवा उत्पादन हुने बेला भारतमा कुरिलो निर्यात रोकिएपछि कुरिलोको बजार खस्किएर नर्सरी पनि मारमा जडीबुटी व्यवसायीहरूको भनाइ छ ।
सामूहिक रुपमा महिलाहरूले वन भित्रै करिव १ बिगा जग्गामा कुरिलो, सर्पगन्धा, मेन्था, लगायतको खेती गर्दै आएका थिए भने जडीबुटीको नर्सरीमा कुरिलो, सर्पगन्धा, रक्तचन्दन लगायतका जडीबुटीका बिरुवा उत्पादन गरिएपनि बजार अभावका कारण हाल सबै काम रोकिएको अध्यक्ष भण्डारीले बताइन् ।
बिभिन्न चुनौतीका बाबजुद जडीबुटी खेतीमा लागेको भएपनि बजारीकरणको समस्याका कारण पलायन हुने अवस्था आएको उनले बताइन् । सुदूरपश्चिममा जडीबुटीको राम्रो सम्भावना भएपनि पछिल्लो समय बजारीकरणकै समस्याका कारण धेरै जडीबुटी नर्सरीहरू बन्द अवस्थामा रहेका छन ।


















