खाेज्नुहाेस

सुदूरपश्चिममा गुन्जायमान देउडा

Image

कञ्चनपुर – सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरा पर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौँको टुँडिखेलबाट पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् ।

देउडा डोट्याली लोक साहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवै रूपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतालाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेढ पाइला अगाडि र डेढ पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकार बताउँछन् ।

attariya hospital

‘देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो’ साहित्यकार कविराज भट्टले भने ‘देउडा लोकवार्ता र लोकनृत्य पनि हो ।’ यो सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्व र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उनले बताए । देउडामा देव गाथालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ । ‘देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहोरी हुने गर्दछ’ भट्टले भने ‘यसमा एउटाले प्रश्न सोध्ने र अर्काले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ ।’

navjiwan hospital

देउडामा पुराण, इतिहास, राजनीति लगायत ज्ञानगुनका विविध विषयवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक संघका अध्यक्ष रमेश पन्त मीतबन्धु बताउँछन । ‘देउडामा समाजका राम्रा–नराम्रा पक्ष र समसामयिक घटना उठानका साथै माया प्रेमका कुरा पनि आउने गर्दछन’ उनले भने ‘यो विशेषगरी गौरा तथा मेला पर्वमा खेल्ने गरिन्छ ।’ देउडा खेल्नका लागि कुनै विशेष पर्व नै हुनुपर्छ भन्ने नभएको उनले बताए ।

‘सुदूरपश्चिममा पहिले–पहिले मनोरञ्जनका लागि विवाह, व्रतबन्ध र अन्य चाडबाडमा पनि खेल्दै आएको पाइन्छ’ उनले भने ‘गौरा पर्वका अवसरमा भने देउडा बढी मात्रामा खेल्ने गरिन्छ ।’ देउडा महिला तथा पुरुषका छुट्टाछुट्टै र कतै मिश्रित रूपमा पनि हुने गरेको पाइन्छ । देउडामा सुखदुख, माया प्रेम, हास्यव्यङ्ग्यका साथै विविध ज्ञानगुन र अर्ति–उपदेशका प्रश्न–उत्तरमा आधारित गीत प्रस्तुत गर्ने राजमति जाग्री बताउँछन ।
गौराका अवसरमा गाउँबाट बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ । केही थलोमा विभिन्न संघसंस्थाले अगुवाइ गरेका छन् । ग्वाल्लेक नागार्जुन समाज महेन्द्रनगरले शीवधामस्थित संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम आयोजना गरेको छ । समाजले देउडा, ठाडो खेल आयोजना गरेको हो ।

गौरा पर्वमा गौराको महत्त्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवती समेत देउडामा झुम्ने गरेको पाइन्छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनौँसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी–पुरुष, युवा–पाका सबै पुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन । पछिल्लो समय यसको महत्त्व अझ बढेको पाइन्छ ।

त्यसैगरी गौरा पर्वकै अवसरमा ढुस्को धुमारी लगायतका खेल पनि खेलिन्छन् । ‘यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्मक रूपमा गाइन्छ’ स्थानीय विश्राम भट्टले भने ‘ठाडो खेलमा मादलको तालसँगै पैताला मिलाउँदै देवी–देवताको गाथा मनोरञ्जनात्मक रूपमा गाइन्छ ।’ देउडामा सुदूरपश्चिमको इतिहास, संस्कृति र साहित्य छ । अहिले मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर देउडा इतिहास र संस्कृतिसँग जोडिएकाले अहिलेका पुस्ताले यसको महत्व बुझ्न जरुरी छ ।
रासस