अत्तरिया – २०६५ असोज ३ देखि ६ गते सम्म परेको अविरल बर्षाका कारण कैलालीको भ्यागुतेपानीको बस्ती नै धसेको थियो । तत्कालिन गोदावरी गाविस – ८ र हालको गोदावरी नगरपालिका – ४ मा पर्ने उक्त स्थानको बस्ती धसेपछि तत्कालिन गाविस र प्रशासनले बस्ती स्थानान्तरण गर्नुपर्ने रिपोर्टिङ ग-यो । बस्ती जोखिममा रहेको सुचिकृत गरिएपनि दुई बर्ष सम्म पनि कुनै सुनुवाई नभएपछि स्थानीय तत्कालिन वडा, गाविस, जिल्ला हुँदै मन्त्रालय सम्म धाए । तर, सबै ठाउँबाट आश्वासन पाएका उनीहरुले निरास भएर सोही ठाउँमा जोखिम मोलेर बस्न बाध्य भए भने धेरैजसो परिवार आफै बस्ती छोडेर अन्यत्र गए । त्यसपछि बस्ती स्थानान्तरणको माग पनि सेलायो भने राज्यले पनि बास्ता गरेन ।
पछिल्लो २ बर्ष यता भने बर्षातमा गोदावरी नदीमा पानीको सहत पहिलेको तुलानामा बढी आएर पहिरो खस्न थालेपछि पुनः स्थानीय वस्ती स्थानान्तरणको माग गर्दै सरकारी कार्यालयहरु धाउन थाले । गत बर्ष पनि बस्ती स्थानान्तरणको आश्वासन पाएका उनीहरुले जोखिम मोलेरै बसिरहेकै बेला साउन २२ गते गोदावरीमा आएको बाढीका बस्ती तहसनहस पारेपछि भने विस्थापित नै भएका छन ।

हाल भ्यागुतेपानीमा बस्दै आएका ५३ परिवार मध्ये केहीका घर भत्किाएका छन भने केही घर उच्च जोखिममा छन । जसका कारण उनीहरु सो क्षेत्र छोडेर हाल गोदावरी नगरपालिका ४ कै गोदावरी सामुदायिक वन भित्र बसिरहेका छन । ९ दिन देखि सुदूरपश्चिम प्रदेशको अस्थाइ राजधानी तोकिएको क्षेत्र नजिकै जंगल क्षेत्रमा बसेका उनीहरुको अझै पनि बस्ती स्थानान्तरणको माग भने यथावत छ ।
हाल भ्यागुतेपनी संगै जोखिएको दोगाड र सालानिगाडाका २ दर्जन बढी परिवार पनि बस्ती जोखिममा परेपछि सोही जंगलभित्र बस्दै आएका छन ।
भ्यागुतेपानीका दुर्गा प्रशाद तिवारीले जोखिममै परेको बस्ती साउन २२ गते गोदावरीमा आएको बाढीले बस्न नै नमिल्ने भएको छ । उनले बस्ती स्थानान्तरणको लागि १५ बर्षदेखि माग गर्दा पनि सुनुवाई नभएपछि हाल यो अवस्थामा पुगेको बताए । उनले अब एक कट्टा चामल र त्रिपाल दिएर समस्या सामाधान नहुने बताए ।
‘हामीलाई यस समस्याबाट मुक्त हुनको लागि दिगो सामाधानको उपाय आवश्यक छ । हाल हामीले उपभोग गरेको जग्गा सरकारले लिएर हामीलाई त्यसको सट्टामा जोखिम नभएको ठाउँमा बसाउनु पर्छ । हाम्रो मुख्य माग भनेको बस्ती स्थानान्तरणको हो’ उनले भने ‘बर्षेनी हामीलाई पीडा नदिइदिन आग्रह गरिरहेका छौ ।’ उनले अब बस्ती बस्नै नमिल्ने भएकाले बाध्य भएर जंगलभित्र बस्नुपरेको बताए ।

‘२०६५ देखि बस्ती जोखिममा हुँदा पनि कुनै सुनुवाई भएको छैन । बस्नै नसकिने अवस्था भएपछि हाल हामी जंगलभित्र बस्न बाध्य भएका छौ’ उनले भने ‘हामी ९ दिन देखि यहाँ जंगलमा बसिरहेका छौ ।’
जंगलमा बसिरहेका उनीहरुले बस्ती स्थानान्तरणको माग गर्दै वडा, नगर, जिल्ला प्रशासनमा धाउन भने छोडेका छैन । बस्ती स्थानान्तरणको माग गर्दै कार्यालयहरुमा बुझाएका फाइल देखाउँदै तिवारीले भने ‘पछिल्लो २ बर्ष देखि वडा, नगर, प्रशासनमा फाइल घुमिरहेका छन । काम भएको छैन ।’

स्थानीय ७५ बर्षीय लक्ष्मण बिष्टले साउन २२ गते आएको बाढीले आफ्नो ५ कठ्ठा खेत बगाएर घर पनि जोखिममा परेको बताए । उनले घरमा बस्न नमिल्ने भएपछि हाल जंगलमा बसिरहेको बताए । ‘५ कठ्ठा जमिन बाढीले बगाएको छ । घर पनि जोखिममा परेको छ । अहिले कहाँ बस्ने टुङ्गो छैन’ उनले भने ‘जंगलमा बस्दा पनि निकै समस्या छ । तर, बस्नुपर्ने बाध्यता छ ।’
स्थानीय जशु देवि रोकामगरले पनि बाध्य भएर हाल आफूहरुले वडाले दिएको त्रिपाल र चामलको साहारामा जंगलमा बसेको बताइन् । ‘घरबार बिहिन भएपछि अहिले जंगलमा बस्नुपरेको छ । घर पुरै बाढीमा बग्यो’ उनले भनीन् ‘धन्न घरमा नभएकाले ज्यान जोगियो । घरमा भएका लत्ताकपडा, भाडाकुडा सबै बगे ।’
भ्यागुतेपानी संगै जोडिएको दोगाड गाउँका नरेन्द्र सिह धामी गोदावरीमा आएको बाढीका कारण आफूहरुको बस्ती पनि उच्च जोखिममा परेको बताए । नदी किनारामा भएको बस्ती हाल जोखिममा परेपछि १२ परिवार विस्तापित भएको उनले बताए ।
‘२०७७/७८ देखि चुरेमा सडक खन्ने क्रम बढ्दै गएपछि आफूहरुको बस्तीमा पनि जोखिम बढेको छ । अहिले बाढीको जोखिम रोक्नका लागि तटबन्ध बाध्ने प्रयास गरिएपनि त्यो सफल भएन ।
साउन २२ गते आएको बाढीले बस्ती बस्नै नसक्ने अवस्थामा पुगेको छ’ उनले भने ‘बाढीमा पानी भन्दा पनि बढी सडक काटेको ढुङ्गा माटो आउने गरेको छ । जसले गर्दा हामी चुरे फेदमा बस्नै नसक्ने अवस्थामा पुगेका छौ ।’ उनले चुरे फेदमा भएका सबै बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था आइसकेको बताए ।

















