अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको चौकिडाँडा सामुदायिक वनबाट काटिएका १ हजार बढी रुखको व्यवस्थापन हुन सकेको छैन । वनमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि १ हजार बढी रुख काटिएका थिए । एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ५ हेक्टर क्षेत्रफलमा भएका साल सहितका रुख काटेर वनलाई हस्तान्तरण गरेको थियो । उक्त रुख हाल वन कार्यालयको परिसरमा राखिएको छ । उक्त काठ फागुन महिनामा काटेर वन परिसरमा जम्मा गरिएको थियो ।
वनका अध्यक्ष पदम राज भट्टराइले वनको कार्ययोजना नविकरण नभएकाले काठको व्यवस्थापनमा समस्या भएको बताए । उनले सामुदायिक वनमा जम्मा भएको काठ के गर्ने भन्ने विषयमा अझै टुङ्गो नलागेको बताए । भट्टराई ३ महिना अगाडी मात्रै वनको नयाँ अध्यक्षमा चुनिएका थिए ।
वनका पुर्वअध्यक्ष प्रेम भण्डारीले कार्ययोजनाको म्याद सकिएकाले वितरण गर्न नसकिएको बताए । उनले हाल वनमा काठ कु–काठ गरी करिब ८ हजार क्युफिट काठ संकलन भएको बताए ।


सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडेलले चौकिडाँडा सामुदायिक वनको काठ उपभोक्तालाई वितरण गरिने बताए । ‘काठ पहिला आन्तरिक खपत हुन्छ । उपभोक्ताले काठ लिएनन् भने लिलाम प्रक्रियामा जान्छ’ उनले भने ‘काठ कसरी उपभोक्तालाई दिने भनेर कार्ययोजनामा तोकिएको हुन्छ ।’ उनले वनको कार्ययोजना नविकरण भएपछि काठ वितरणको प्रक्रिया अगाडी बढ्ने बताए ।
हाल काठ कटान गरेको क्षेत्रमा चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरीङ कम्पलेक्ससंग ठेक्का सम्झौता गरेर फोहर मैला व्यवस्थापन केन्द्र निर्माणको काम भइरहेको छ । फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि उक्त कम्पनी संग १८ जुलाई २०२२ मा ठेक्का सम्झौता भएको थियो ।
फोहरमैला व्यवस्थापन केन्द्रको निर्माणका लागि ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । जसमा ७५ प्रतिसत एडेवीको ऋण अनुदान सहयोग र २५ प्रतिशत नेपाल सरकारको सहयोग गरेको छ । सम्झौता अनुसार फोहरमैला व्यवसस्थापन निर्माणको काम ४ सेप्टेम्बर २०२४ मा सकिनु पर्ने छ ।
एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी तिनवटा स्थानीय तहमा हाल एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढेको छ । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका गरी तिनवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको छ ।

















