खाेज्नुहाेस

हसिँला अनिलको दर्दनाक कथा

Image

अत्तरिया – खुट्टाको साहारामा हिडडुल गर्न नसक्ने भएपनि अनिल मल्ल अत्तरिया क्षेत्रमा हुने बिभिन्न सार्वजनिक कार्यक्रममा सहभागि हुन छुटाउँदैनन् । उनी आफ्नो ट्राइसाइकलमा बसेर अपाङ्गता भएकाहरुको कार्यक्रमहरुमा पुगिहाल्छन । झट्ट हेर्दा उनी खुट्टाको साहारामा हिड्न नसकेपनि अन्य समस्यामा होलान जस्तो लाग्दैन् ।

तर, बाहिर हेर्दा सधै हसिला देखिने अनिलको भित्री कथा भने दर्दनाक छ । डोटीको जोरायल गाउँपालिका – १ मा जन्मेका मल्ल ४ भाइ मध्येका माइला हुन । खुट्टाको साहारामा हिडडुल गर्न नसक्ने भएकाले उनले पहाडमा विद्यालय नियमित जान सकेनन् तर, घरमै पढेर पनि उनले ६ कक्षा सम्म अध्ययन गरे । क्रिस्चियन धर्म मान्ने उनलाई सोही धर्म संग सम्बन्धित संस्थाले १२ कक्षा सम्म काठमाण्डौंमा पढाउन लग्यो । त्यहाँ उनले १२ कक्षा सम्म ढुक्क सगं पढ्न पाए ।

attariya hospital

तर, अध्ययन सकेपछि उनी पुनः घरमै थन्किए । उनी २० बर्षको हुँदा उनको परिवार तराइ बसाइ स-यो । उनका वुवाले गोदावरी नगरपालिका – २ मा पर्ने सालघारी टोलमा टहरा ठड्याए । अनिल जन्मजातै अपाङ्गता भएपनि उनका परिवारमा अरुमा भने त्यस्तो समस्या थिएन । बुवा कृषि, मजदुरी गर्थे दाइभाइ पनि ठूला भएपछि विहे गरेर आ -आफ्नो बाटो लागे ।

परिवारको सहारा विस्तारै कम हुँदै गएपछि उनलाई आफैले आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आयो । उमेर बढ्दै गएपछि खुट्टाको साहारामा हिडडुल गर्न नसक्ने अनिलका अगाडी चुनौती थपिदै गए । २०७१ सालमा सालमा अपाङ्गता भएकी टीकापुरकी जानकी मल्ल संग लगन कसिएपछि झन परिवारको जिम्मेवारी पनि थपियो ।

उमेर संगै जिम्मेवारी बढ्नु सामान्य प्राकृतिक नियम नै हो । तर, खुट्टाको साहारामा हिड्न नसक्ने अनिलका लागि भने त्यो निकै ठूलो चुनौती थियो । आफूले सकेको कुनै काम गर्न लगानी छैन् । अरुकोमा जागीर गर्न शरीरले साथ दिन्न । तर, उनले हार मानेनन् । सानै भएपनि अत्तरियामा सकेको व्यवसाय गर्ने सोच बनाए ।

उनले सानो खोका पसल राखे । त्यो व्यवसाय राम्रै भयो । उनलाई आवतजावत गर्न चर्च र अन्य सघ सस्था ब्याक्तीबाट ट्राइसाइकल किन्न रकम पनि जुट्यो ।

खोकाको व्यापारले आफ्नो परिवार पाल्न सकिने आत्मवल उनलाई मिल्न थाल्यो । त्यसपछि उनले अत्तरियामै कोठा भाडामा लिएर बस्न थाले ।

केही गर्न सकिन्न की ? जिवन कसरी चलाउने होला ? भनेर उनले आफैलाई सोध्ने प्रश्न उनका मनबाट हराउन थालेका थिए । तर, अचानक उनको जिवनको यात्राले मोड लियो । उनको जिवन चलाइरहेको खोकामा नगरपालिकाको डोजर चल्यो ।

‘बजारमै बसेर सानोतिनो व्यापार गरौं भनेर अत्तरियामै सानो खोका हालेर कोठा भाडामा लिएर बसे । तर १ बर्ष चलाउन नपाउँदै २०७४/०७५ सालमा खोका नगरपालिकाले हटाइदियो’ उनले भने ‘खोकामा ८० हजार जति लगानी लागिसकेको थियो । त्यो सबै तहसनहस भयो ।’

जसोतसो एउटा जिवन धान्ने आधार ढलेपछि उनी विचल्लीमा परे । नगरपालिकाले अत्तरिया बजारलाई व्यवस्थित बनाउने भन्दै बजार क्षेत्रमा राखिएका खोका छाप्रा हटाएको थियो । खोकाछाप्रा हटाउदा खोकाछाप्रामै निर्भरलाई उचित व्यवस्था गर्ने भनेपनि त्यसो गरिएन् । हाटखुट्टा हुनेले त लगत्तै अरु पेसा अपनाए होलान तर, उनका लागि सबै काम गर्न त्यती सहज थिएन ।

navjiwan hospital

राज्यबाटै रोजिरोटी खोसिएपनि उनले हरेस खाएनन् । त्यसपछि जिविको पार्जन गर्नको लागि सेकेन्ड हेन्ड ई– रिक्सा किने । तर, त्यो ६ महिना पनि चलेन । त्यसपछि उनले नयाँ ई–रिक्सा किन्ने योजना त बनाए । तर, लगानी १ रुपैयाँ पनि थिएन ।

‘पैसा थिएन तर सोरुमले पत्याइदियो । ४ लाख २० हजारको अटो एक रुपैयाँ नदिई किस्तामा दियो’ उनले भने ‘त्यसपछि म त्यसको पैसा तिर्न बिहान ४ बजे देखि राती १० बजे सम्म काम गर्न लागे । अटोको पैसा पनि तिरे ।’ काममा निकै मिहेनतका साथ खटिएपनि उनले स्वास्थ्यका बारेमा ख्याल गर्न भने चुके । जसले गर्दा उनी अहिले ४१ बर्षकै उमेरमा दिर्घरोगीको सिकार भएका छन ।

‘काम गर्ने क्रममा समयमा खाना खाएन । पैसा तिर्ने तनावमा काममा बढी ध्यान गयो । अहिले ग्याष्टिक संगै हर्नीया भएको छ । खाने नलिमा हर्नीया भएको छ । त्यो निको नै नहुने रहेछ । अपरेसन पनि नहुने रहेछ । अब कति दिन संसारमा बस्न सकिने हो थाहा छैन’ उनले भने ‘अहिले अटो पनि पहिले जस्तो चलाउन सक्दैन । असोज देखि घरको भाडा पनि तिर्न बाँकी छ । अटोको पनि ब्याट्रि सकिएको छ । १ लाख लाग्छ रे । फेर्न सकेको छैन ।’

७ बर्ष देखि भाडाको कोठामा बस्दै आएका उनलाई अहिले दैनिक खर्च चलाउन पनि धौ–धौ छ । अपाङ्गता भएर पनि आफ्नै कर्मले खाइरहे पनि सोचेजस्तो अवस्था नबन्दा उनी निकै समस्यामा परेको बताउँछन् । उनले आफ्नो भागको गाउँमा ऐलानी आधा कट्टा जग्गा भएपनि त्यो बिक्री पनि नभइरहेको बताए । उनले भने ‘घर बनाउन सकिने अवस्था छैन । भाडामा बस्न पनि समस्या छ के गर्ने सोच्न सकिरहेको छैन ।’ खान लाउनकै समस्या भेलिरहेका भएपनि उनले ७ बर्षका छोरालाई भने राम्रै विद्यालयमा पढाइरहेका छन ।

‘छोरालाई राम्रै स्कुलमा पढाउने चाहना थियो । त्यसका लागि पैसा नभएपनि सहयोग पाउन्छु भन्ने आशा थियो’ उनले भने ‘विभिन्न निजी स्कुलमा सहुलियतमा पढाइदिन आग्रह गरेका थिए । २/३ यस क्षेत्रका बोर्डिङ स्कुलले मेरो प्रस्तावमा सहमति जनाए । त्यसपछि मैले अत्तरियामै रहेको एभरेष्ट एकेडेमीमा छोरालाई भर्ना गर्ने निर्णय गरे । अहिले उक्त स्कुलले छोराको शुल्क लिदैन ।’ उनका छोरा अपिल मल्ल अहिले युकेजीमा पढिरहेका छन । स्कुलको शुल्क मिनाहा गरेर प्रीन्सीपल स्माइल सरले निकै ठूलो गुण लगाएको उनी बताउँछन ।

वहाकी श्रीमती जानकी ‘ग’ श्रेणिकी अपाङ्गता हुन । उनले नगरपालिकाले आयोजना गरेको १५ दिने डल कुसन तालिम लिएपनि त्यो तालिममै सिमित हुन पुगेको छ । जानकीले भनीन् ‘तालिम पाइयो तर, काम पाइन्न, आफ्नै व्यवसाय गर्न लगानी छैन । केहीले व्यवसायीक डल कुसन बनाएपनि बजार छैन् ।’

अनिल अहिले स्वास्थ्यले साथ नदिदा पनि बाध्य भएर ई–रिक्सा चलाउन निस्किन्छन । तर, अटो पनि पुरानो भएकाले आम्दानी भन्दा खर्च बढी छ । अनिल अपाङ्ग एकता समाज गोदावरीका अध्यक्ष पनि हुन । सार्वजनिक कार्यक्रमहरुमा संस्थाको अध्यक्ष भएकाले अरुका हक हितका बारेमा बोल्ने उनको आफ्नै अवस्था त्यो भन्दा नाजुक छ ।

‘बाहिर संस्थाकै अध्यक्ष छ यो ले त के–के पो खायो होला भन्छन आफ्नो भित्रि पीडा आफैलाई थाहा छ’ उनले भने ‘नगरपालिकाबाट २१ सय अपाङ्गता भत्ता आउँछ त्यो तिन महिनामा ६३ सय एकमुष्ट आउँछ त्यसले भाडा तिर्न पुग्दैन ।’

६ महिना देखि कोठा भाडा पनि तिर्न नसकेका उनी अहिले दैनिक खान लाउनको लागि निकै समस्या झेल्नुपरेको बताउँछन । उनले आफ्ना लागि खोकाछाप्राको व्यवसाय राम्रै भएपनि त्यो हटेपछि जिवन जिउन निकै चुनौती थपिएको बताए ।

‘हामीलाई हटाएको ठाउँमा अहिले हुनेखानेले खोका छाप्रा राखेर बसेका छन । त्यहाँ राम्रै पसल बनेका छन’ उनले भने ‘उतीबेला आफ्नो खोका नहटाएको भए अहिलेको अवस्था आउने थिए । खोकाछाप्रा गरिब विपन्नलाई दिनुपर्ने हो । तर अहिले हुनेखानेले खोकाछाप्रा कब्जा गरेका छन ।’

शरिरकै साहारा नपाएका अनिल राज्यको पनि साहारा नपाउँदा आफुलाई जीवन धान्न झन असहज भएको बताउँछन । उनले आफु जस्ताका लागि राज्यले भत्ता मात्रै नदिएर रोजगार सहित विशेष व्यवस्था गर्न आवश्यक रहेको बताए ।