धनगढी – चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । तर, उनले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ ।

अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ । केसीसँगै रहेका उनका सहयोगी डाक्टर अमृत जैसीले स्वास्थ्य अवस्था झन बिग्रिदै गएको जानकारी दिए ।

उनले केसीको ब्लड प्रेसर घटेर ९०/६० पुगेको पुगेको बताए । केसी धनगढी पुगेर अनशन बसेको पाँच दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सुनवाइ भएको छैन ।
उनका सहयोगी डाक्टर जैसीले सरकारी पक्ष आन्तरिक रुपमा अनौपचारिक सम्वादमा रहेको सुनिए पनि औपचारिक रुपमा वार्ताका लागि अहिलेसम्म प्रस्ताव नआएको बताए ।



















