अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालमा सर्पदंशको उपचार सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सर्पदंशको उपचारका लागि पोर्टेबल भेन्टिलेटर सहितको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । उनले सर्पदंशको उपचारका लागि नेपाल सरकारको मापदण्ड अनुसारका सम्पूर्ण उपकरण मालाखेती अस्पतालमा पुगेको बताउँदै अहिले जडानको काम भइरहेको बताए । उनले साउन महिनामा सर्पदंशको उपचार सेवा सञ्चालनमा आउने बताए ।
उनले सर्पदंशको उपचारका लागि अस्पतालमै भएका जनशक्ति परिचालन गरिने बताए । ‘सर्पदंशको उपचारका लागि अस्पतालमा भएका भएका जनशक्तिलाई तालिम दिने काम भइसकेको छ’ उनले भने ‘सर्पदंशको लागि अस्पतालमा छुटै कोठाको व्यवस्था गरेर सेवा सुरु हुन्छ ।’ सर्पदंशको सेवा सञ्चालनका लागि प्रदेश सरकारले १० लाख लगानी गरेको उनले बताए । उनले केही उपकरण अस्पतालमै रहेको र मुख्य उपकरण पोर्टेबल भेन्टिलेटर भने सेती अस्पतालबाट ल्याइएको बताए ।

गोदावरी नगरपालिकाको १५ औँ नगर अधिवेशनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटमार्फत पनि मालाखेती अस्पतालमा सर्पदंशको उपचार सेवा विस्तार गर्ने घोषणा गरेको थियो । सोही नीति अनुसार प्रदेश सरकारको सहयोगमा सर्पदंशको उपचार सेवा सञ्चालनको तयारीमा रहेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । सर्पदंशको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम पनि उपलब्ध हुने सुनिश्चित भइसकेको उनले बताए । उनले औषधी संघ सरकारको आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट उपलब्ध हुने बताए ।

अस्पतालमा सर्पदंशको जटिल समस्या देखिएका बिरामीलाई भने भेन्टिलेटर सहित रेफर गरिने भएको छ । स्वास्थ्य शाखा प्रमुख अवस्थीले जटिल समस्या भएमा सर्पदंशको सुपर स्पेसिलिस्ट अस्पताल सेतीमै रेफर गर्नुपर्ने बताए । उनले पोर्टेबल भेन्टिलेटर भएकाले बिरामी सहित लग्न भेन्टिलेटर सकिने बताए । ‘प्यारामेडिक्स डाक्टर र बिरामीलाई भेन्टिलेटर सहित एम्बुलेन्समा राखेर यहाँबाट सेतीमा रेफर गर्न सकिन्छ’ उनले भने ‘बिरामीलाई सुरुवाती चरणमा गरिने सबै काम गरेर बिरामीलाई पठाइने भएकाले मृत्यु हुने जोखिम कम हुन्छ ।’ उनले सामान्य समस्या भएका बिरामीको भने मालाखेती अस्पतालमै उपचार हुने बताए ।
मालाखेती अस्पतालमा विगत लामो समय देखि सर्पदंशका बिरामीको उपचार सेवा सञ्चालनको माग गरिँदै आएको थियो । विशेष गरेर ओलानी क्षेत्रमा सर्पको बिगबिगी धेरै भएकाले नजिकैको मालाखेती अस्पतालमा सर्पदशंको उपचार भएमा बिरामीको ज्यान जोगाउन सहज हुने स्थानीयको माग थियो ।
मालाखेती अस्पतालमा सर्पदशंको उपचार सेवा सुचारु भएमा गोदावरीबासिले सहज र छिटो उपचार सेवा पाउने वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले बताए । उनले सर्पदशंको उपचार सेवाका लागि सांसद तुलसी देवकोटाको विशेष भूमिका रहेको बताए । ‘विशेष गरेर मैले र गोदावरी १० का वडाध्यक्ष (रवीन्द्र शाही) धेरै अनुरोध गरेपछि सांसद तुलसी देवकोटाज्युले आफ्नो सांसद कोषबाट यसमा बजेट हाल्नुभएको हो’ उनले भने ‘यस विषयमा अभिमुखीकरण कार्यक्रम पनि भएको भएको थियो । सर्पदंशको सेवा साउन देखि सुरु हुने जानकारी दिइएको थियो । यो सेवा सुरु भए त धेरै राम्रो हुन्छ ।’
उनले मालाखेती अस्पतालमै सर्पदंशको सेवा सुरु भएपछि यस क्षेत्रका जनताले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने बताए । ‘अहिले बाटो पनि सहज भएको छ । अब ओलानीको गैडीबाट २० मिनेट मै मालाखेती अस्पतालमा पुगिन्छ’ उनले भने ‘अब धेरै मानिसहरू बच्ने भए ।’



















