बैतडी – नेपाल–भारत सिमाना झुलाघाटमा रहेको सटही काउन्टर २२ वर्षदेखि बन्द रहेको छ । सटही काउन्टर बन्द हुँदा व्यापारीलाई चर्को कमिसन दिएर नेपाली मुद्रा साट्न स्थानीयवासी बाध्य छन् । झुलाघाटमा महाकाली भन्सारसँगै रहेको सटही काउन्टर नेकपा (माओवादी) को सशस्त्र द्वन्द्वको समय २०५७ सालमा बन्द भएको थियो ।

शान्ति प्रक्रियापछि महाकाली भन्सार कार्यालय स्थापना भए पनि सटही काउन्टर स्थापना गरिएको छैन । सटही काउन्टर नहुँदा स्थानीयले समस्या भोग्नुपरेको स्थानीय रघुवीर थापाले बताए । व्यापार, व्यवसाय र उपचार लागि नेपालबाट भारत जाँदा पाँच प्रतिशत कमिसन दिएर नेपाली मुद्रा साट्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

आतपत्कालीन समयमा उपचारका लागि भारतको पिथौरागढ जाँदा नेपाली मुद्रा नचल्दा पाँच प्रतिशत कमिसन दिएर मुद्रा साट्नुपर्ने बाध्यता रहेको बताइन्छ ।
भारतबाट दैनिक लाखौँ रुपियाँको कारोबार हुने गरे पनि सीमा नाकामा सटही काउन्टर नहुँदा नेपाली व्यापारीले समस्या भोग्नुपरेको गुनासो लिएर भन्सार कार्यालयमा आउने गरेको झुलाघाट भन्सार कार्यालयले जनाएको छ ।















