काठमाडौं – होटलका कोठाहरूमा एकपटक मात्र प्रयोगमा आउने प्लाष्टिक हटाउन होटल संघ नेपाल (हान)ले अभियान शुरू गरेको छ । होटललाई आगामी २ वर्षभित्र अर्थात् सन् २०२४ सम्ममा एकपटक प्रयोग हुने, तर अर्कोपटक प्रयोग नहुने प्लाष्टिक तथा अन्य प्रयोगका सामग्रीबाट मुक्त गर्ने अभियान हानले शुरू गरेको हो ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हानले होटलको कोठालाई प्लाष्टिकमुक्त बनाउने अभियान शुरू गरेको जानकारी दिएको छ । सो कार्यक्रममा हानकी अध्यक्ष सिर्जना राणाले संघका सदस्य होटलका कोठामा प्लास्टिकजन्य सामानको प्रयोग कम गर्ने र यसलाई क्रमश: प्रतिस्थापन गर्दै लैजाने लक्ष्यसहित अभियान शुरू गरिएको बताइन् । दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्री प्रयोग नहोस् भन्ने उद्देश्यले अभियान घोषणा गरेको बताइन् ।

‘यस कार्यले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा योगदान पुग्नेछ,’ उनले भनिन्, ‘हामीले गर्ने हरेक क्रियाकलाप तथा व्यवहार वातावरणमैत्री हुनु जरूरी छ ।’ कोभिडपछिको पर्यटनलाई तीव्र गतिमा लयमा फर्काउने उद्देश्यले हानले होटलका कोठामा दैनिक प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न अभियान शुरू गरेको उनले बताइन् । सो अवसरमा उनले भनिन्, ‘अहिले विभिन्न बुकिङमाध्यम, जस्तै– बुकिङ डटकमले प्रकाशित गरेको रिपोर्टमा ६८ प्रतिशत पाहुनाहरूले पर्यावरणमैत्री होटल रुचाउने गरेको देखिन्छ ।’



















