धनगढी – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति गर्न असार ३१ गते सिनेट बैठक बस्ने भएको छ । शिक्षा तथा खेलकूद मन्त्रालय निकट स्रोतकाअनुसार विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि बिहान १० बजे शिक्षा मन्त्रालयमा सिनेट बैठक तय भएको छ ।

विश्वविद्यालय ऐनअनुसार पदाधिकारी नियुक्तिको लागि सिफारिस समितिले नाम सिफारिस गरिसकेको छ । समितिले उपकुलपतिका लागि दुई जना र रजिष्ट्रारका लागि तीन जनाको नाम सिनेटलाई सिफारिस गरिसकेको छ ।

सिनेटले सिफारिसमध्येबाट एक जनालाई उपकुलपति र एक जनालाई रजिष्ट्रार नियुक्त गर्नेछ । अन्य विश्वविद्यालयभन्दा फरक यो विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने अधिकार सिनेटमा छ ।



















