कञ्चनपुर – १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको बंक–नायल–बुडर सडक खण्ड अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ को पहरिया र सुन्दरी फाँटा जोडने ओदाल खोलाको पुल ३ वर्षदेखि अलपत्र छ ।
ओदाल खोलाको छेउमै रहेको खार खोलामा निर्माणाधीन पुल पनि ५ वर्षसम्म सकिएको छैन । यी दुवै पुल निर्माण कम्पनी थेगिम कन्स्ट्रक्सन हो । दुवै पुल निर्माणका लागि २०७३ मा ठेक्का सम्झौता भएको थियो । ओदाल खोला ३ करोड ५३ लाख र खार खोलामा ६ करोड ५९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

खार र ओदाल खोलामा मात्रै होइन जिल्लामा निर्माणाधीन एक दर्जन पुलको काम पटकपटक म्याद थप गर्दासमेत सकिएको छैन । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार कतिपय पुलको काम दुई÷तीन वर्षदेखि ठप्प छ । काम सुचारु गराउनै समस्या भइरहेको छ ।
खार खोलको पुल निर्माणको ठेक्का पाएको थेगिम कन्स्ट्रक्सनले दुवै पुलको काम चालु आर्थिक वर्षमै सक्ने योजना रहेको जनाएको छ । ओदाल खोलाको पुल निर्माणको काम पनि छिट्टै सुचारु गर्ने निर्माण कम्पनीका इन्जिनियर दिनेश बटालाले बताए ।

‘तीन वर्षदेखि पुल निर्माणको काम ठप्प छ, न कोही आउँछन्, न त काम हुन्छ,’ पहरियाका स्थानीय खगेन्द्र भण्डारीले भने, ‘बर्खामा वारिपारि आउजाउ बन्द हुन्छ, पुल बने केही सहज हुन्थ्यो ।’ उनका अनुसार सुन्दरीफाँटाका बासिन्दालाई बर्खामा निकै समस्या हुने गरेको छ ।
ओदाल खोलाको पुल निर्माणमा ढिलाइ गरेको भन्दै निर्माण कम्पनीले १० प्रतिशत जरिवानासमेत तिरिसकेको छ । तर पनि काम सुचारु हुन सकेको छैन । ‘कञ्चनपुरमा थेगिमकै तीन पुलको ठेक्कामा लामो समयदेखि काम सम्पन्न हुन सकेको छैन,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर पीयूष चटौतले भने, ‘पटकपटक म्याद थप गरेर पनि काममा प्रगति हुन सकेको छैन ।’
उनका अनुसार थेगिमले ठेक्का पाएको बेलौरीको भकुन्डामा दोदा नदीमा निर्माणाधीन पुलको काम पनि पटकपटक म्याद थप्दासमेत पूरा हुन सकेको छैन । चार स्पामको उक्त पुल निर्माणका लागि ३ वर्षको समयावधि तोकेर ०७३ मा थेगिम कन्स्ट्रक्सनसँगै २६ करोड ७१ लाखमा ठेक्का सम्झौता भएको हो । पछिल्लो पटक थपिएको म्याद पनि चैत मसान्तमा सकिँदै छ । ‘यो अवधिमा पनि काम सकिँदैन,’ चटौतले भने, ‘फेरि म्याद थप्नुपर्छ ।’
दोदा नदीमै निर्माणाधीन देखतभुली–जाँई जोड्ने पुल पनि लामो समयदेखि अलपत्र छ । पिलर ठड्याएको ५ वर्षसम्म पनि पुलको काम भने ठप्प छ ।
उक्त पुल निर्माणका लागि ३ वर्षमा काम सक्ने गरी ०७२ मा राजेन्द्र निर्माण सेवासँग २४ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो । एक पटक म्याद थप गरेर निर्माणको समयावधि थप दुई वर्ष बढाइएको थियो । ६ खण्डको उक्त पुलको लम्बाइ २४० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुलका ५ वटा पिलरहरू निर्माण भएका छन ।


















