खाेज्नुहाेस

जातीय विभेद तथा छुवाछुत मानव समाजका कलंक हुन् : प्रधानमन्त्री

Image

काठमाडौं  – प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलंक भएको बताएका छन्। ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले २१औँ शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुनेसमेत बताएका छन्।

सन्देशमार्फत उनले जातीय विभेद उन्मूलनका लागि संघर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मानसमेत व्यक्त गरेका छन्। आज ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ। हरेक वर्ष मार्च २१ मा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइन्छ।

attariya hospital

मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै मानिस समान हुन् भन्दै सबैलाई स्वतन्त्रता र आत्मसम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेको छ। साथै, संयुक्त राष्ट्र सङ्घको जातीय भेद्भाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ र अन्य विभिन्न घोषणा तथा प्रतिज्ञापत्रले पनि जातीय भेदभावलाई कानूनतः दण्डनीय बनाउँदै सबै मानवका लागि समानता, स्वतन्त्रता र अविभेदको सुनिश्चितता गरेका छन्। प्रधानमन्त्री देउवाले नेपाल यी अन्तर्राष्ट्रिय सन्धि तथा प्रतिज्ञापत्रहरूको पक्ष राष्ट्र भएको नाताले तिनमा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्नु हाम्रो कानुनी र नैतिक दायित्व भएको सन्देशमा उल्लेख गरेका छन्।

navjiwan hospital

नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रता र समानताको हक सुनिश्चित गरी छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको उल्लेख गर्दै उनले तदनुसार विभिन्न ऐन, नियम तथा निर्देशिका एवं संरचनागत व्यवस्थामार्फत जातीय भेदभाव तथा छुवाछुतलाई उन्मूलन गर्न विभिन्न प्रयासहरू भएको बताएका छन्।

‘आज मुलुकमा जातीय छुवाछुत भेदभाव (कसुर र सजाय) ऐन, २०६८ र मुलुकी देवानी तथा फौजदारी संहिता जारी भई दलित तथा बहिष्करणमा परेका समुदायलाई न्याय र समानता सुनिश्चित गर्ने र उनीहरूलाई दुव्र्यवहार गर्ने विरुद्ध कानुनी कारबाही हुनसक्ने स्थिति निर्माण भएको छ,’ सन्देशमा उल्लेख छ, ‘यी कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबै नागरिकलाई सम्मानपूर्ण व्यवहार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ।’

आजभन्दा करिब २४ वर्ष अगाडि आफ्नै प्रधानमन्त्रित्व कालमा विसं २०५४ असोज १५ गते उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान विकास समिति र मिति २०५८ साउन ३२ गते राष्ट्रिय दलित आयोग गठन भएको स्मरणसमेत उनले गराएका छन्। विसं २०६३ जेठ २१ गतेका दिन नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको हो।

दलित र बहिष्करणमा परेकालाई राज्यको सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आरक्षण र सकारात्मक विभेदलगायतका विभिन्न व्यवस्था गरिएको उनले बताएका छन्। प्रधानमन्त्री देउवाले यी कानुनी व्यवस्था तथा संरचनालाई थप प्रभावकारी बनाउँदै यस वर्गभित्र पनि सीमान्तीकृत र विपन्न समूहलाई बढी लाभ पु¥याउने गरी कार्य गर्नसमेत सबैलाई आग्रह गरेका छन्।

मुलुकमा जातीय भेदभाव र छुवाछुतलाई पूर्ण रूपमा अन्त्य गरी सबै नेपाली नागरिकलाई समानताको आधारमा आत्मसम्मानपूर्ण व्यवहार सुनिश्चित गर्न दिवसले प्रेरणा दिन सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन्।