खाेज्नुहाेस

अबदेखि रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिइने

Image

काठमाण्डौं – गृह मन्त्रालयले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ। मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाएर २४ सैं घण्टा चल्न दिने निर्णय गरेको हो।

गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाउने भएका छन्।

attariya hospital

यसअघि प्रहरी प्रशासनले राती १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो।

व्यवसायीले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनासो गर्दै आएका थिए। त्यसपछि रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए।

कार्यदलले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिन सिफारिस गरेको गरेको थियो। उक्त सिफारिस अनुसार गृहले रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा चल्न दिने निर्णय भएको हो।

navjiwan hospital

गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणीन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार सरकारले मापदण्ड तयार बनाएर रात्रिकालीन व्यवसायलाई रातभर खुला राख्न दिने निर्णय गरेको छ।

मापदण्डमा डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न नपाइने भनिएको छ। ‘नृत्य प्रदर्शन गर्ने कलाकारहरुले सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने छ’ मापदण्डमा भनिएको छ, ‘आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रुपमा सेवा लिन आउने सबै पाहुनलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्नेछ।’

कानुन अनुसार इजाजत प्राप्त गरेर मात्र मनोरञ्जन प्रदान गरेर आर्थिक वृद्धिमा टेवा पुर्‍याउने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने भनिएको छ। रात्रिकालीन व्यवसायमा काम गर्ने कामदारलाई पद अनुसार पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको सुविधा पनि उपलब्ध गराउनुपर्ने भनिएको छ।

‘सेवा लिइसकेपछि व्यवसाय स्थलबाट आफ्नो घरसम्म पुर्‍याइदिन ग्राहकले अनुरोध गरे सम्बन्धित व्यवसायीले स(शुल्क सवारीसाधनको व्यवस्था गर्नुपर्नेछ’ मापदण्डमा भनिएको छ, ‘आन्तरिक सुरक्षाका लागि व्यवसायीले पोशाक र परिचय(पत्र साथमा सुरक्षागार्डलाई राख्नुपर्नेछ।’

पर्यटन, होटल, रष्टुरेन्ट तथा मनोरञ्जनात्मक क्षेत्रमा बालश्रमिकको प्रयोग गर्न नपाइने पनि भनिएको छ। साथै, १८ वर्ष उमेर नपुगेका बालबालिकालाई डान्स, रेष्टुरेन्ट, बार, लाइभ ब्याण्ड, लाउन्ज बार, पवबार, क्लब, डिस्को जस्ता व्यवसायमा ग्राहकको रुपमा प्रवेश गर्न पनि निषेध गर्नुपर्ने भनिएको छ।

‘सबै वयवसायीहरुले आफ्नो व्यवसायको निर्धारित मूल्य सूची विपरीत अनावश्यक रुपमा बिलिङ गरी ग्राहकलाई गैरकानुनी रुपमा दुःख दिन पाइने छैन’ मापदण्डमा भनिएको छ।