अत्तरिया – कोरोना संक्रमण बढेसंगै अत्तरिया बजार क्षेत्रमा पनि सिटामोल (प्यारासिटामोल) को माग बढेको छ । सामान्य ज्वरो, शरीर दुखेमा प्रयोग गरिने सिटामोलको बजारमा माग बढेको हो ।
अत्तरियामा रहेको सेवा औषधी पसलका औषधी बिक्रेता तिलक रेग्मीले पछिल्लो केही दिन यता सिटामोल किन्न आउने बिरामीको संख्या बढेको बताए । उनले सिटामोल खोज्न मात्रै दैनिक २० देखि २५ जना आउने गरेको बताए । उनले सिटामोल माग्ने ग्राहक आएपनि पसलमा सिटामोल स्टक भने नरहेको बताए । ‘सिटामोल सकिएपछि धनगढी डिलरमा अडर गरेका थियौ । उता पनि सिटामोल छैन भने’ उनले भने ‘सिटामोल नहुँदा ग्राहकलाई रित्तै फर्काउनु परेको छ ।’

अत्तरियामा रहेको पुष्पाञ्जली मेडिकल हलका संचालक धनी राम चौधरीले हाल सिटामोलको स्टक भएपनि होलसेलमा पसलले भने स्टक सकिएको जानकारी दिएको बताए । ‘मैले अलि बढी स्टक गरेकाले हप्ता दिन सम्म पुग्न सक्छ । अहिले दिनमा १ हजार ट्याब्लेट बिक्री भइरहेको छ’ उनले भने ‘थप सिटामोलका लागि होलसेल पसलमा कुरा गर्दा स्टक नभएको जानकारी आएको छ ।’
मेरी मेडिकलका औषधि बिक्रेता प्रेम कुँवरले सिटामोलको सिमित स्टक भएको बताए । ‘हाल मेडिकलमा ८ सय पिस जती सिटामोल छ’ उनले भने ‘मेडिकलमा दैनिक ३ सयको हाराहारीमा बिरामी आउने गरेकोमा २ सय जना जतिले सिटामोल माग्ने गरेका छन ।’ यस्तै अत्तरियामा रहेको

पिडी पोलिक्लिनिकका संचालन गणेश जिमी साउँदले पसलमा एक बट्टा सिटामोल स्टक भएको बताए । उनले ज्वरोका बिरामी बढेकाले सिटामोलको माग बढेको बताए ।
‘यो जनरल मेडिसिन हो । यो काउन्टर सेल औषधी भएकाले जो पनि आएर औषधी पसलबाट माग्न सक्छन । त्यसैले यो औषधी ज्वरोका बिरामी बढ्दा बढी खपत हुन्छ’ उनले भने ‘केही मान्छेले दुखाई, ज्वरोका लागि काम लाग्छ भनेर घरमा स्टक पनि राख्ने गरेका छन ।’
अत्तरियामा ठूला अस्पतालहरुमा भन्दा पनि साना औषधी पसलमा बढी सिटामोल बिक्री हुने गरेको छ । अत्तरियामा रहेको पद्मा अस्पतालले भने सिटामोलको अभाव नभएको जनाएको छ । अस्पतालका फार्मेसी इन्चार्ज रतन चौधरीले सिटामोलको धेरै बिक्री पनि नहुने भएकाले अभाव नभएको बताए ।
उता गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालले भने सिटामोलको पर्याप्त भण्डारण भएको जनाएको छ । अस्पतालका जनस्वास्थ्य निरिक्षक महेश दत्त पाण्डेले अस्पतालमा १० हजार बढी ट्याब्लेट स्टक रहेको बताए । उनले अस्पतालबाट दैनिक २ सय जती सिटामोल ट्याब्लेट वितरण हुने गरेको बताए ।
हाल देशभरी नै सिटामोल अभाव भएको गुनासो आउन थालेको छ । आमउपभोक्ताको गुनासोपछि सरकारले सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिएपनि बजारमा भने अझै पनि पर्याप्त मात्रामा सिटामोल पाउन सकिएको छैन । अत्तरिया क्षेत्रका खुद्रा औषधी बिक्रेताहरुले पनि डिलरमा सिटामोलको माग गरेपनि नपाइने गरेकाले डिलरमा छानबिन हुनुपर्ने बताएका छन ।


















