अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावमा होमिएको नैन सिंह कार्की नेतृत्वको प्यानलले संघमा विगतमा भएका गल्ती, कमजोरी सार्वजनिक गर्ने घोषणा गरेको छ । उक्त प्यानलले बिहीबार आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै संघमा विगत ७/८ वर्षमा भएका कमजोरी सार्वजनिक गर्ने घोषणा गरेको हो ।

अध्यक्ष पदका उम्मेदवार कार्कीले आफूहरू निर्वाचित भएमा ४५ दिन भित्रमा विगत ७/८ वर्षमा अत्तरिया उद्योग वाणिज्य संघमा भएका गल्ती, कमीकमजोरी सार्वजनिक गर्ने आफ्नो प्रतिबद्धता रहेको बताए ।
‘विगतका गल्ती कमजोरी पारदर्शी ढङ्गले छानबिन गरी ४५ दिन भित्र सार्वजनिक गर्ने छौ’ उनले भने ‘यो ७/८ वर्षको पिरियडमा के कति गल्ती कमजोरी भएका छन् । हामीले जितेर संस्थामा पुगेपछि सबैलाई यो जानकारी गराउने छौ ।’

उनले पछिल्लो २/३ वर्ष यता अत्तरिया उद्योग वाणिज्य संघ छ या छैन भन्ने अवस्था आएको बताए । उनले आफूहरू निर्वाचित भएपछि संघलाई व्यवसाय मैत्री बनाउने बताए । उनले संघलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने, संघलाई प्रविधि मैत्री बनाउने बताए ।
उनले संघको भवन भोगाधिकारको लागि पहल गर्ने र त्यसमा सफल नभएमा आफ्नो जग्गा किनेर भवन बनाउने बताए । उनले अब लामो समय सम्म भवनको लागि अलमलमा नपर्ने बताए ।

अत्तरिया उद्योग वाणिज्य संघको असार २७ र २८ गते साधारण सभा हुँदै छ । जसका लागि हाल सम्म अध्यक्ष सहित ३ र अध्यक्ष बाहेकको १ गरी ४ वटा प्यानल चुनाव लड्ने घोषणा सहित मैदानमा होमिसकेका छन् । अत्तरिया उद्योग वाणिज्य संघमा हाल १ हजार २४ जना सदस्य आबद्ध छन् ।


















