धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका ९१ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार धनगढी उपमहानगरपालिका–३ बाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ३९ हजार ९० रुपैयाँ बराबरका कुर्ती, कपडा तथा विभिन्न किराना सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी ५२ हजार रुपैयाँ बराबरका चिनी, सुर्ती तथा अन्य किराना सामान बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको छ।



















