खाेज्नुहाेस

बहाव परिवर्तन हुने गरी महाकालीमा फेरि तटबन्ध बनाउँदै भारत

Image

दार्चुला – सदरमुकाम खलंगा बजारको पारिपट्टि महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले पक्की तटबन्ध निर्माण थालेको छ । भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको हो । नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशासनसँग समन्वय गरेको छैन ।

भारतीय केन्द्रीय जल विभागले माघ ४ बाट आफ्नो भूभागतर्फ पुलघाटदेखि जहरलालसिंह नवियाल स्टेडियमसम्मको एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु गरेको हो । अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैनन । नेपाल–भारतबीच यसअघि आफूखुसी तटबन्ध नबनाउने सहमति भइसकेको छ । अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर भारतले महाकालीको बहाव नेपालतर्फ फर्कने गरी तटबन्ध बनाइरहेको हो । तटबन्ध निर्माण गर्दा भारतीय पक्षले समन्वय नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

attariya hospital

भारतले तटबन्ध निर्माण सुरु गरेपछि मात्रै संरचनाबारे सोधपुछ गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मौखिक रूपमा जानकारी माग्दा भारतीय पक्षले पुरानो तटबन्ध भत्काएर नेपालतर्फको जस्तै तटबन्ध बनाउन लागेको जनाएको थियो ।

navjiwan hospital

महाकाली किनारमा भारतले पक्की तटबन्ध बनाउन थालेको बारे शुक्रबार गृह मन्त्रालयलाई पत्राचार गरिएको प्रशासनले जनाएको छ । उक्त क्षेत्रमा २०७० सालमा महाकालीमा आएको भीषण बाढीअघि नै भारतले नदीको धार परिवर्तन हुने गरी तटबन्ध बनाएको थियो । यसपालि बहाव धकेलिने गरी नदीको भूभाग मिचेर पक्की तटबन्ध बनाउन थालेको स्थानीयले बताएका छन । अहिले भारतीय पक्षले पुलघाटदेखि स्टेडियमसम्मको भूभागमा तटबन्ध निर्माणका लागि ढुंगामाटो पन्छाइसकेको छ । पुलघाटनजिकको क्षेत्रमा करिब ४०÷५० मिटरमा जग खन्न पनि सुरु गरेको छ ।

गत पुस १३, १४ तिर नदी किनारमा नापजाँच गरेको भारतले माघको सुरुवातबाटै तटबन्धको काम थालेको पुलघाटका स्थानीय राजेन्द्र बडालले बताए । हिउँदमा जलस्तर घटेका बेला नेपालतिर धार फर्काएर तटबन्ध निर्माण भइरहेको छ । ‘यसअघि नै यो क्षेत्रमा नदीको बहाव नेपाल फर्काउने संरचना बनेकै छ,’ बडालले भने, ‘वर्षात्मा नदीमा पानी भएको बेलामा हाम्रोतिरको तटबन्धलाई हिट गर्छ, त्यसमाथि नदी किनारमा दुई÷तीन दिनयता संरचना बनाइरहेको छ ।’

कान्तिपुरबाट