खाेज्नुहाेस

होल्डिङ सेन्टर निर्माणमा ढिलाई हुँदा कोरोना संक्रमितको व्यवस्थापनमा समस्या

Image

धनगढी – कैलाली सँग सीमा जोडिएको गौरीफन्टा नाकामा १ हजार क्षमताको होल्डिङ सेन्टरको निर्माणमा ढिलाई हुँदा भारतबाट आउने संक्रमित व्यवस्थापनमा समस्या भएको छ । हाल भारतबाट आउनेहरुमा दैनिक जसो संक्रमण देखिने गरेको भएपनि होल्डिङ सेन्टर निर्माणको काम अधुरै रहदा संक्रमितलाई राख्न समस्या भएको हो ।

भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला नेपालीहरु पनि स्वदेश फिर्ता हुन थालेका भएपनि सीमामा होल्डिङ सेन्टर नहुँदा कोरोना संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ ।

attariya hospital

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको कनरीमा सञ्चालन गरिएको आइसोलेसनमा एक सय जनाको क्षमता छ । ठाउँ सीमित भएका कारण त्यहाँ अहिले कोरोना लक्षण भएका संक्रमितलाई मात्र राख्ने गरिएको छ ।

‘हामीले अहिले कोरोनाका लक्षण भएका र जटिल खालका संक्रमितलाई आइसोलेसन सेन्टरमा व्यवस्थापन गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी किरण थापाले भने, ‘लक्षण नभएका सामान्य खालका संक्रमितलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै होम आइसोलेसनमै बस्नेगरी पठाइरहेका छौँ ।’ प्रजिअ थापाले होल्डिङ सेन्टर निर्माण भइरहेको ढिलाइका कारण केही समस्या भइरहेको छ ।

navjiwan hospital

प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि होल्डिङ सेन्टर निर्माणमा आफ्नो भूमिका नभएपछि कोरोना संक्रमित बढ्न थालेका कारण समस्या हुने देखिएको भन्दै छिटो काम गरिदिन आग्रह गर्ने गरेको छ । तर बजेट अभाव लगायतका कारण होल्डिङ सेन्टर निर्माणमा ढिलाइ हुने देखिएपछि धनगढीमा निर्मित प्रादेशिक आयुर्वेद औषधालयको भवनलाई आइसोलेसन सेन्टरका रुपमा प्रयोग गर्ने तयारी गरिएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । उनले भने ‘हामीले बढ्दो संक्रमणलाई ध्यानमा राखेर संक्रमितको उचित व्यवस्थापनका लागि आयुर्वेद औषधालयको भवनलाई आइसोलेसन सेन्टर बनाउनेगरी काम अघि बढाएका छौं ।’

नेपाली सेनामार्फत संघीय सरकारले निर्माण गरिरहेको होल्डिङ सेन्टर अहिलेसम्म ७१ प्रतिशत भौतिक प्रगति भएकोमा ४० प्रतिशत कामको मात्रै भुक्तानी पाइएको छ ।

नेपाली सेनाबाट होल्डिङ सेन्टर निर्माणका लागि २८ करोड ९० लाख रुपैयाँमा ठेक्का पाएको हनुमान कन्सट्रक्सनका प्रतिनिधि यज्ञपुरुष न्यौपानेले बजेट अभावका कारण छ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने काम लम्बिएको बताए ।

‘नेपाली सेनासँग गत असार ३ गते ठेक्का सम्झौता भएर हामीले होल्डिङ सेन्टर निर्माणको काम अगाडि बढाएका थियौं । पुस मसान्तसम्म काम सक्नुपर्नेमा समयमै बजेट नपाउँदा समस्या भइरहेको छ,’ न्यौपानेले भने, ‘अझै बजेट प्राप्त नभएकोले थप समय लाग्न सक्छ । हामीले तीन महिनाको अवधि बढाउन निवेदन पेश गरेका छौं ।’ नेपाली सेनाले समयमै बजेट दिएमा ढिलाइ नहुने दावी निर्माण व्यवसायीको छ ।

कैलाली मात्र नभएर कञ्चनपुरको गड्डाचौकी नाकामा निर्माणको क्रममा रहेको होल्डिङ सेन्टरको काम पनि अधुरै छ । त्यहाँ करिब ८५ प्रतिशत भौतिक प्रगति भएको हनुमान कन्सट्रक्सनले जनाएको छ ।

होल्डिङ सेन्टर निर्माणमा भइरहेको ढिलाइले संक्रमितहरु धमाधम गाउँ पठाइन थालेपछि समुदाय स्तरमा ओमिक्रोन फैलिने जोखिम बढेको छ ।