कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन् ।
वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन् ।

दुर्गम विपन्न बस्तीका बासिन्दाले विद्यालय टाढा हुँदा बालबालिकालाई पढाउनका लागि गाउँ नजिकैको नदीको बगरमा विसं २०४८ देखि बालविकास केन्द्र सञ्चालन गर्दै आएका छन् ।
‘बालविकास केन्द्र सञ्चालन हुँदै आएको टहराको भुइँमा बालुवा छ, चिसो बालुवामै बसेर बालबालिका पढ्दै आएका छन’ स्थानीयवासी जनक कार्कीले भने, ‘अभिभावकको आर्थिक अवस्था निकै दयनीय छ, गाउँका अधिकांश परिवारले मजदुरी गरी जीविका चलाउँदै आएका छन्, मजदुरी नगरे चुलोमा आगो बल्दैन, घर चलाउनै मुस्किल भएका बेला विद्यालयलाई सहयोग गरी फर्निचरको व्यवस्था गर्न सकिएको छैन ।’
गर्मीका बेला बालुवा तात्ने भएकाले बालबालिका टहरामा बस्न नसक्ने बालविकास शिक्षिका सुमिता रानाले बताए । उनले भने ‘थोरै हावा चलेपछि बालुवा उडन थाल्छ, बालबालिका बिरामी पर्ने गरेका छन्, हिउँदका बेला भुइँको बालुवा निकै चिसो हुँदा बालबालिकालाई बस्न निकै अप्ठेरो हुने गरेको छ ।’

घाम लागेका बेला चौरमा राखेर पढाउने गरे पनि अरू बेला कक्षा सञ्चालन गर्न निकै अप्ठेरो रहेको उनले बताए । टहराको माथि राखिएका वर्षौं पुराना जस्तापातामा खिया लागेर ठाउँ ठाउँमा प्वाल पर्दा चुहिने गरेकाले थोरै बर्सातमा पनि कक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए ।
‘वडा कार्यालयमार्फत नगरपालिकालाई बालबालिका बस्नका लागि कार्पेट, गुन्द्रीको व्यवस्था गरिदिनका लागि माग राख्दै आएका छौ’ उनले भने ‘सुनवाइनै हुन सकेको छैन, अश्वास दिन्छन्, त्यसपछि कोही फर्केर आउँदैनन् ।’ बालविकास केन्द्रमा खेल सामग्रीको समेत अभाव रहेको उनले बताए ।
बालविकास केन्द्रमा कृष्णपुर नगरपालिका–३ र शुक्लाफाँटा नगरपालिका–१२ का पाँच वर्षमुनिका ३५ बढी बालबालिका पढ्दै आएका छन् । यस क्षेत्रमा पहिला आधारभूत तहको विद्यालय नै सञ्चालनमा रहेको थियो । बाढीजन्य प्रकोपका कारण विद्यालय विस्थापनमा परेपछि स्थानीय बासिन्दाले बालबाविकास शिक्षकको व्यवस्था गरी बालविकास केन्द्र सञ्चालन गर्दै आएका छन् ।
स–साना बालबालिकालाई नदी तारेर टाढाको विद्यालय पढाउन सकिने अवस्था नहुँदा बालविकास केन्द्र सञ्चालन गर्नु परेको सुवा रानाले बताए । ‘कठ्याङ्ग्रिँदो चिसोमा बालबालिका भुइँमा बसेर पढ्न बाध्य भए पनि नगरपालिकाको यसतर्फ ध्यान जान सकेको छैन’, उनले भने ‘पानी पिउनका लागि समेत धारा नहुँदा बालबालिका स्थानीय बासिन्दाको घरमा पुगेर पानी पिउने गरेका छन् ।’
शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले राना दुर्गमको आदिवासी जनजाति र दलित समुदायको बसोबास रहेको क्षेत्र रहेको भए पनि थोरै बजेट विनियोजन हुने गरेकाले बालविकास केन्द्रको स्तरोन्नति गर्न नसकिएको बताउछन । नगरपालिकाबाट थोरै बजेट विनियोजन हुँदा सबै क्षेत्रमा बाँड्दा बालविकास केन्द्र छुट्ने गरेको उनले बताए ।
शुक्लाफाँटाका नगर प्रमुख दिलबहादुर ऐरले बालविकास केन्द्रको अवस्थाबारे हालसम्म कुनै पनि निकायबाट जानकारीसम्म पाउन नसकेको बताए ।
‘बालविकासको भौतिक पूर्वाधार निर्माण, फर्निचर आवश्यक शैक्षिक सामग्रीका लागि प्रस्ताव आएमा आवश्यक बजेटको व्यवस्था गर्छौ’ उनले भने ‘पिछडिएको दुर्गमा क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको छु ।’ (रेडियो नेपालबाट)
















