काठमाण्डौं – नेपाली कांग्रेस डडेल्धुराका नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि अनसन सुरू गरेका छन् । आज नाराबाजी गर्दै उनीहरूले अनसन सुरू गरेका हुन् ।
सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले रिले अनसन सुरू गरेका हुन् । नेविसंघ नेता भुवन भट्टलगायत २१ जना अनसन बसेका छन् ।


हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने माग उनीहरूको छ । अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने पनि उनीहरूको माग छ ।
यस्तै वडा तथा पालिका अधिवेशन एकलौटीरूपमा सभापति देउवा पक्षले गरेकोले त्यो बदर हुनुपर्ने माग उनीहरूको छ । सबैको सहमतिमा वडा तथा पालिका अधिवेशन गर्न उनीहरूले माग गरेका छन् ।
गत भदौ २५ मा डडेल्धुरामा जिल्ला सभापति कर्णबहादुर मल्ल लगायतको विरोधबीच वडा अधिवेशन भएको थियो । अनसनका लागि जिल्लाका नेताहरू पार्टी कार्यालयमा आएका छन् ।
उपसभापति करूणाकर भट्ट, नेविसंघ पूर्वअध्यक्ष केशव सिंह, महाधिवेशन प्रतिनिधि हरि भट्टलगायत पनि रिले अनशनका लागि पार्टी कार्यालय आएका छन् ।
















