अर्घाखाँची – नेपालका एक युवाले ब्याक गियर भएको बाइक निर्माण गरेका छन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – १ पाणिनी चोकमा बस्ने कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाएका हुन ।

बिदाको समयलाई सदुपयोग गरी उनले कुनै तालिमविना इलेक्ट्रोनिक बाइक बनाएको दाबी गरेका छन ।

उनले निर्माण गरेको बाइक अर्घाखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । बुटबलमा सब–ओभरसियर विषय पढ्दै आएका सागरले निर्माण गरेको बाइकको एक औपचारिक कार्यक्रमको आयोजना गरी टुँडिखेलमा दौडाएका थिए ।
उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, उपमेयर ठाकुरकुमार विक, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, सन्धिखर्क १ का वडाध्यक्ष युवराज बन्जाडे, १२ का वडाध्यक्ष नारायण खड्का लगायतको सहभागिता रहेको थियो ।














