धनगढी – ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहना सहित कैलाली र धनुसाका २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कैलाली बर्दगोरिया गाउँपालिका–१ घर भएका ३० वर्षीय बोध राज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी रहेका छन ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको सुन सहित पक्राउ गरिएको हो ।

श्री एयरलाइन्सको उडानद्वारा बिराटनगर जान लागेका उनीहरुलाई उक्त व्यागेज एरियामा खटिएको प्रहरीले एक्सरे मेशिनमा जाँच गर्ने क्रममा भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम बराबरको सुनका बिभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका विभिन्न गहना आवश्यक प्रक्रिया पूरा नगरी लैजान लागेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बरामद सुन सहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

















