धनगढी – बजेट कार्यान्वयनमा देखिएको अन्योल लम्बिँदै जाँदा सुदूरपश्चिम प्रदेश सरकारले अब एक साताभित्र विकास बजेट खर्च गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारीले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा जाने निश्चित भएको दाबी गरेका छन् ।
मन्त्री भण्डारीका अनुसार प्रदेशसभाबाट बजेट पारित भइसकेको र रातो किताबसमेत सार्वजनिक भइसकेकाले अब पूरक बजेट ल्याउने सम्भावना छैन । उनले आगामी पाँचदेखि सात दिनभित्र बजेट कार्यान्वयनको बाटो खुल्ने विश्वास व्यक्त गरे ।

नेकपा एमालेबाट प्रदेश सरकारमा सहभागी भण्डारीले बजेटमा व्यापक फेरबदल नहुने स्पष्ट पारे । उनका अनुसार बजेटमा देखिएका सामान्य त्रुटि, दोहोरिएका योजना तथा अस्वाभाविक देखिएका केही कार्यक्रमलाई आवश्यकताअनुसार सच्याउन सकिने भए पनि समग्र बजेटको संरचना परिवर्तन हुने अवस्था छैन । ‘बजेट पारित भइसकेको छ, रातो किताब पनि आइसकेको छ । अब कार्यान्वयनमा जान मात्रै बाँकी हो,’ उनले भने, ‘पूरक बजेट आउने सम्भावना छैन । कानुनी रूपमा पनि त्यसको अवस्था देखिँदैन ।’

चालु आर्थिक वर्ष २०८३÷०८४ सुरु भएको तीन महिना बित्न लाग्दासमेत प्रदेश सरकारको बजेट कार्यान्वयनमा जान नसक्दा विकास निर्माणका गतिविधि प्रभावित भएका छन् । पूरक बजेट ल्याउने वा प्रदेशसभाबाट पारित बजेटलाई नै कार्यान्वयन गर्ने भन्ने विषयमा सत्तारूढ दलहरूबीच मतभेद देखिएपछि बजेट खर्चको प्रक्रिया अन्योलमा परेको थियो ।
मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी चक्र मल्लले सम्हालिरहेका छन् । बजेट कार्यान्वयन र पूरक बजेटको विषयमा मुख्यमन्त्री भट्ट तथा अर्थमन्त्री मल्लले यसअघि पनि आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । यस विषयमा थप जानकारी उनीहरूलाई नै हुने मन्त्री भण्डारीको भनाइ छ ।
बजेट विवादकै कारण प्रदेशका नयाँ विकास आयोजना अघि बढ्न सकेका छैनन् । यही विषयले प्रदेश सरकारको राजनीतिक समीकरणसमेत प्रभावित बनाएको थियो । लामो विवादपछि गत असोज २८ गते प्रदेशसभाबाट चालु आर्थिक वर्षको बजेट पारित भएको थियो ।
बजेट पारित भएको लामो समयसम्म पनि कार्यान्वयन हुन नसक्दा विकास निर्माण, सेवा प्रवाह र पुँजीगत खर्च प्रभावित हुने चिन्ता बढिरहेका बेला मन्त्री भण्डारीको पछिल्लो अभिव्यक्तिले बजेट कार्यान्वयनबारे नयाँ आशा जगाएको छ ।

















