खाेज्नुहाेस

तिजका कार्यक्रममा छ्यापछ्याप्ती अवैध टेन्टको प्रयोग, व्यवसायीको आपत्ति

Image

अत्तरिया – आधुनिकता सँगै तिज मनाउने शैलीमा पनि परिवर्तन आएको छ । हिजो आज तिजमा मञ्च नै निर्माण गरेर महिलाहरू तिजका गीत बजाएर नाच्ने रमाइलो गर्ने क्रम बढ्दै गएको छ । यस्ता कार्यक्रममा विभिन्न सङ्घसंस्था, समूहले मात्रै नभएर स्थानीय, प्रदेश सरकारको आयोजनामा समेत हुने गरेका छन् ।

तर, यस्ता कार्यक्रममा प्रयोग हुने टेन्ट, डिजे भने अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायीबाट ल्याएर सञ्चालन हुने गरेको भन्दै टेन्ट व्यवसायीले आपत्ति जनाएका छन् । कुनै निकायमा दर्ता नै नभएका, घरमै टेन्टका सामान राखेकाहरूबाट सस्तोको नाममा टेन्ट प्रयोग गर्दा दर्ता गरेर व्यवसाय सञ्चालन गरेकाहरू मारमा परेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन ।

attariya hospital
navjiwan hospital

कृष्णपुर टेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल अर्याले गोदावरी र कृष्णपुर नगरपालिका भित्र सरकारी कार्यालय, सरकारी स्कुलले गर्ने कार्यक्रममै छ्यापछ्याप्ती अवैधानिक रूपमा सञ्चालनमा रहेका टेन्ट, डिजे प्रयोग गर्ने गरेको बताए । उनले नेपाल सरकारले करको दायरा विस्तार गर्न, व्यावसायिक पारदर्शिता कायम गर्न र राजस्व वृद्धि गर्न विभिन्न नीतिगत, प्राविधिक तथा नगद प्रोत्साहन योजनाहरू कार्यान्वयनमा ल्याएको भए पनि टेन्ट व्यवसायमा ठिक विपरीत भएको बताए ।

उनले अवैध टेन्ट प्रयोग गरेर नक्कली बिल बनाएर भ्रष्टाचार समेत हुने गरेको बताए । ‘सरकारी कार्यालय लगायत वडा कार्यालय र सरकारी स्कुलहरूमा कुनै कार्यक्रम हुँदा सम्बन्धित निकायबाट इजाजत नलिई अवैधानिक रूपमा सञ्चालनमा रहेका डिजे र टेन्ट ल्याई कार्यक्रम गर्ने गरेको छ’ उनले भने ‘आफ्नै वडामा दर्ता भई सञ्चालन भएकालाई काम दिइँदैन, कमिसनको चक्करमा सस्तोमा काम गरेर पछि महँगो बिल पेस गर्ने गरिएको छ ।’ उनले यसरी काम गरेर पछि दर्ता भएका टेन्ट व्यवसायीकहाँ बिल माग्न आउने गरेको बताए ।

टेन्टको व्यवसाय गर्दै आएका कालीराम चौधरी यसरी कार्यक्रम गर्ने सरकारी कार्यालयले बिल समेत नमाग्ने गरेको बताए । उनले बिल आयोजकले नै आफै मिलाउने गरेको बताए ।

यसरी आयोजना गरिएका कार्यक्रमका बिल माग्न सरकारी कार्यालयका कर्मचारी देखि लिएर प्रदेशका माननीय सम्म आउने गरेको अत्तरियाका एक टेन्ट व्यवसायीले बताए । उनले अवैध रूपमा सञ्चालन रहेका टेन्ट सस्तोमा प्रयोग गरेर पछि महँगो बिल बनाउनेको लागि खाली बिल माग्ने गरिएको बताए । यद्यपि उनले आफूहरूले यसरी बिल दिन बन्द गरेको बताए । उनले यसरी कार्यक्रममा टेन्टको खर्च धेरै ठुलो देखाएर ठुलो कमिसनको खेल हुने गरेको बताए ।