धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट भन्सार छलि गरी ल्याइएका करिब दुई लाख रुपैयाँ बराबरका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट अन्दाजी ७५ हजार ६ सय रुपैयाँ बराबरका चिनी, प्याज, बिडी, सुर्ति, सरप, आलु, प्लाष्टिक झिल्ली लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।


इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले आइतबार ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो।
यस्तै, कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख २० हजार ३ सय ८० रुपैयाँ बराबरका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पेय पदार्थ, विभिन्न प्रकारका कपडा, सुर्ति, खाने तेल, नमकिन, हार्डवेयर लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
दुवै जिल्लाबाट बरामद गरिएका सामानको कुल अनुमानित मूल्य १ लाख ९५ हजार ९ सय ८० रुपैयाँ रहेको छ। बरामद सामानमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



















