सन्तोष पन्त, बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका – ५ का ३१ वर्षीय खुसीराम चौधरी रोपाइ सकेर असार २६ गते आफ्नो नियमित कामका लागि घरबाट हिँडेका थिए । उनी स्याप्रुबेसी स्थित लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा मजदुरी गर्थे । करिब ४ वर्ष बढी समयदेखि जलविद्युत आयोजनाको सुरुङमा मजदुरी गरिरहेका चौधरी भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्क विहीन छन् ।
३ भाइका मध्ये माइलो खुसीराम सम्पर्कविहीन भएपछि बुढा आमाबुबा सहित सिङ्गो परिवार यति बेला चिन्तामा छ । श्रीमती सरस्वती दिनहुँ फोन गरिरहने श्रीमानको फोन आउने आशामा टोलाइरहन्छिन् । भदौ ९ गते राती ८–९ बजेतिर दैनिकी जस्तै श्रीमान् सँग कुरा गरेकी सरस्वती त्यसपछि कुरा गर्न नपाउँदा बेचैन छिन् ।

‘दिउँसो १२-१ बजे, राती ९ बजे दिनदिनै फोन गर्नुहुन्थ्यो, ९ गते राती कुराकानी भयो,’ भक्कानिँदै उनले भनिन् ‘त्यसपछि कुरा भएको छैन यसअघि कुरा हुँदा धान काट्न दसैँतिर आउने भन्नुहुन्थ्यो ।’ उनका अनुसार खुसीराम वर्षौँदेखि यसरी नै रोपाइँ सकेर जाने, धान काट्ने बेला आउने गर्दथे ।
बाढी आएको दिन भदौ १० गते सरस्वती दैनिकी घरकै कामले व्यस्त थिइन्, बाढी आएको बारे उनलाई जानकारी थिएन । बाढी आएको भन्नेबारे उनलाई लमजुङबाट दाइको भाउजूले फोन गरेर जानकारी दिएकी थिइन । ‘म घरकै काममा थिए लमजुङबाट फोन आयो, बाढी आएको छ बुढा भएको ठाउँतिर के छ बुझ भनेपछि मैले फोन गर्दा सम्पर्क भएन, अनि अहिले १५ दिन बितिसक्दा पनि कुरा हुन पाएको छैन’ उनले भनिन ।

बेला बेलाका खबरले उनी झस्किरहन्छिन् । तर उनले श्रीमान् फर्कने आशामै छिन । ‘जीवितै नफर्किए पनि शव हेर्ने उनको चाहाना छ’ उनले भनिन् ‘आशा त जीवितै हुनुहुन्छ भन्ने छ, नभए पनि शव हेर्ने धोको छ ।’ एउटा छोरा अब कसरी पाल्ने भन्ने चिन्ताले उनलाई झन् पिरोलिरहेको छ । ५ कट्ठा जमिन मात्रै भएको परिवार मजदुरी, खेती किसानी गर्छन् । परिवारले उनी बेपत्ता भएपछि स्थानीय देखि संघीय सरकार सँगै कम्पनीबाट राहत पाउनुपर्ने माग राखेका छन् ।
बेलौरी नगरपालिका – ५ कै ३२ वर्षीय प्रकाश चौधरी पनि त्यही बाढीपछि सम्पर्कविहीन छन् । खुसीराम र प्रकाश नातामा काका–भतिज (बाजे भाइका छोरा) हुन । प्रकाश पनि असार २१ गते रोपाइँ सकेर गएका थिए । दुई भाइ मध्येका जेठा हुन प्रकाश ।
बेलौरी बजार कामले गएका बेला प्रकाशकी श्रीमती प्रतिमालाई सरस्वतीले फोन गरेर जानकारी गराएकी थिइन । उनलाई घरबाट सरस्वतीले नै बाढी गएको छ सम्पर्क भइरहेको छैन, फोन गर भनेकी थिइन । हतारमा उनले आफ्नो श्रीमानको नम्बरमा फोन गरे पनि फोन लागेन । अनि पसलेको वाई फाइ जोडेर अनलाइन कुरा गर्न खोज्दा पनि फोन लागेन । समाचार देखेपछि उनी हतारमा घर आएपछि आफूलाई समाल्न सकिरहेकी छैनन् ।

मोबाइल चलाउने जाँगर नभए पनि उनी मोबाइल आफ्ना अगाडि राखेकी हुन्छिन्, कहीँ मोबाइलमा घण्टी बजिहाल्छकी भनेर । प्रकाश पनि खुसीराम जस्तै ४ वर्षदेखि नै सुरुङमा मजदुरी गरिरहेका थिए । रोपाइ सकेर खुसीराम सँगै गएका उनी पनि धान काट्न दसैँमा घर आउने कुरा श्रीमती सँग गर्ने गरेका थिए ।

‘भदौ ९ गते राती नै कुरा भएको हो, अष्टमी आउँदै छ छोराछोरीको लागि नयाँ लुगा किन्नु, म दसैँमा घर आइहाल्छु भनेका थिए’ प्रतिमाले भनिन् ‘त्यसपछि कुरा हुन पाएको छैन, छोराले बुबा कहिले आउँछन् भनेर सोध्छन् ।’
भदौ १० गतेदेखि कुरा हुन नपाए पनि कुरा हुने छ भन्दै उनले आशा मारेकी छैनन् । ‘धेरै सुरुङमा मान्छे जीवितै भेटिएकाले अहिले केही भएको छैन जस्तो लाग्छ । जीवितै फर्किने नै छन्, आशा भने मरेको छैन’ उनले भनिन् ‘अन्तिम आस रहुन्जेल काज किरिया गर्दैनौ ।’ उनका २ छोरी १ छोरा छन् । उनैको मुख हेरी बसेकी छिन । घरमा बुढा आमाबुबाले उनलाई सम्झाइरहन्छन् ।
केहि दिन अघि दुवै जनाको परिवारबाट दाईभाई रसुवा गएका थिए । बेलौरी नगरपालिकाको टोलीको समन्वयमा घटना स्थल नजिक पुगेका दाजुभाइले परिवारलाई सम्झाउन सकिरहेका छैन । खुसीराम चौधरीका दाइ सुन्दर प्रसाद चौधरीका अनुसार करिब ३ सय मिटरको सुरुङमा कार्यरत २५ जना सम्पर्क विहीन छन् । त्यहाँ २ जनाको मात्रै शव भेटिएको छ । अब ५० मिटर सुरुङमा खोजी बाकी छ ।
दुवै जना वाइबा कम्पनी मार्फत काममा गएका थिए । कम्पनीका प्रतिनिधि सँग परिवारको सम्पर्क भइरहेको हुन्छ । सुरुङ भित्र खोजी गर्दा र गर्न बाकी खोजी हेर्दा जीवितै भेटिने आशा कम रहेको सुन्दर प्रसाद चौधरी बताउछ्न तर, पनि उनीहरूले आस मारेको छैनन् ।
सरकारले बाढीमा भेटिएका शवहरूको पहिचानका लागि बेपत्ता परिवारहरूको डिएनए सङ्कलन गरिरहेको छ । सोही अनुसार दुबै जनाका बुबाले सेती प्रादेशिक अस्पताल रगत दिएका छन् ।
बेलौरी नगरपालिका – ५ का दुई जना सँगै बेलौरी नगरपालिका – ३ पढावका रामचन्द्र चौधरी पनि बाढीपछि सम्पर्क विहीन छन् । उनी पनि दुवै जना सँगै त्यहीँ काम गर्थे ।


















