काठमाडौं । अन्ततः १६ वर्ष माथिका वयस्क दर्शकले मात्र हेर्न पाउने सर्तमा केन्द्रीय चलचित्र जाँच समितिले भारतीय फिल्म ‘बटवारा १९४७’ लाई प्रदर्शन अनुमति दिएको छ । समिति अध्यक्ष उदय रानामगरले आमिर खानले निर्माण गरेको फिल्मलाई ‘एडल्ट’ प्रमाणपत्र दिएका हुन् ।

वितरक मनोज राठीका अनुसार आज बेलुकादेखि यो फिल्म नेपालभर प्रदर्शनमा आउनेछ । केही हलले प्रदर्शन तालिका पनि सार्वजनिक गरिसकेका छन् । बिहीबार गरिएको जाँचमा समितिले हालै नेपालमा भएका घटनाक्रमलाई मध्यनजर गर्दैै धार्मिक सहिष्णुता तथा शान्ति सुरक्षामा खल पार्ने तथा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिएकाले विभिन्न विषय संसोधन गरी मात्र एडल्ट सर्टिफिकेट दिने निर्णय गरिएको उल्लेख थियो ।

साथै, फिल्ममा संसोधन भए, नभएको विषयमा अनुगमन गर्न चलचित्र विकास बोर्डलाई पत्र लेख्ने निर्णय पनि समितिले गरिसकेको छ । समितिले यसअघि मित्रराष्ट्रको सम्बन्धलाई असर गर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने निर्णय गरिसकेको छ । समितिका एक सदस्यका अनुसार, फिल्म रिलिजपछि हलको अनुगमन समेत गरिने भएको छ ।


















