अत्तरिया – सुदूरपश्चिम प्रदेशसभाको मंगलबार बसेको बैठकमा बजेटसँग सम्बन्धित विनियोजन विधेयक र ३ ओटा प्रतिवेदन पेस गरेर सकिएको छ । बैठकमा प्रदेशका अर्थमन्त्री विक्रम सिंह धामीले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान, अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि बनेको प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्न व्यवस्था गर्न बनेको विधेयक टेबुल गरेका छन् ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८३, थारु आयोगको सातै प्रतिवेदन, मुस्लिम आयोगको सातै प्रतिवेदन र मधेसी आयोगको सातौँ प्रतिवेदन सभामा टेबुल गरेका थिए । मन्त्री सार्कीले पेस गरेका प्रतिवेदन सम्बन्धित समितिमा छलफलका लागि पठाइएको छ ।


बजेट टेबुल गरेर बजेट माथि छलफल हुनुपर्ने समयमा सत्तापक्ष भित्रकै विवादका कारण मंगलबारको बैठक कुनै छलफल नगरी ५ मिनेटमै सकिएको छ । प्रदेश सरकारले असार १ गते मध्यरातमा प्रदेश सभामा बजेट प्रस्तुत गरेको थियो । सो दिन बजेट भने टेबुल भएको थिएन ।
आजको बैठक अर्को सूचना जारी नभएका सम्मका लागि स्थगित गरिएको छ ।



















