भारत – भारत असमको जोरहाट एयर फोर्स स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य यातायात विमान दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायुसहित पाँच वायुसेना जवानको मृत्यु भएको छ ।

भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूको विवरण सार्वजनिक गर्दै गहिरो दुःख व्यक्त गरेको छ । मृतकहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् ।

यसअघि दुर्घटनापछि भारतीय वायु सेनाका प्रवक्ता विङ कमाण्डर जयदीपले जोरहाट एयर फोर्स स्टेशनमा एएन–३२ विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेका थिए । वायु सेनाका अनुसार विमान अवतरण (ल्याण्डिङ) गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनापछि विमानमा आगलागी समेत भएको थियो । घटनाको कारण पत्ता लगाउन ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी अनुसन्धान सुरु गरिएको छ ।


















