अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी राष्ट्रिय गुप्तचर निर्देशक तुल्सी गब्बार्डले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो एक्समार्फत सार्वजनिक गरेको पत्रमा श्रीमान्लाई दुर्लभ हड्डीको क्यान्सर पुष्टि भएपछि परिवारलाई समय दिन राजीनामा दिएको उल्लेख गरेकी छन् ।

राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत गबार्डले ३० जुनदेखि प्रशासन छोड्ने पुष्टि गरेका छन् । उनले गब्बार्डको कामको प्रशंसा गर्दै उनको योगदान स्मरणीय रहने बताएका छन् । अब कार्यवाहक निर्देशकको जिम्मेवारी उपनिर्देशक आरोन लुकासले सम्हाल्ने जनाइएको छ ।

गब्बार्ड सन् २०१३ देखि २०२१ सम्म डेमोक्र्याट सांसद थिइन् । पछि उनले डेमोक्र्याटिक पार्टी छोडेर ट्रम्पलाई समर्थन गरेकी थिइन् । इराक युद्धमा सैनिक अनुभवका कारण उनी अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा खुला रूपमा बोल्दै आएकी थिइन् ।


















